सरस्वतीलाई शिक्षा, ज्ञान, कला र सङ्गीतकी आदिस्रस्टाका रूपमा मानिने परम्परा रहिआएको छ : राष्ट्रपति

​​​​​​​काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरस्वतीलाई शिक्षा, ज्ञान, कला र सङ्गीतकी आदिस्रस्टाका रूपमा मानिने परम्परा रहिआएको बताउनुभएको छ  । 

माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश एवम् विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकाहरूमा शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपति भण्डारीले सरस्वती प्रकाशोत्सवले एकातिर हाम्रो सभ्यतामा शिक्षा र कलाको महत्त्व दर्साउँछ भने अर्कोतिर मातृशक्ति नै ज्ञान निर्माणको आधारभूत स्रोत रहेको पक्ष पनि उजागर गर्दछ भन्नुभयो । 

“प्रकाशबाट विविध रङ्गहरू जन्मिए भने रङ्गबाट मानिसले कलाका बहुआयाम विकास गर्‍यो । सरस्वतीको एउटा हातमा रहेको वीणालाई नादको रचना गर्ने यन्त्र मानिएको छ । ब्रह्माण्डमा नाद अर्थात् ध्वनि मात्र सर्वव्यापक छ । यन्त्र र नादको लयबाट सङ्गीतको रचना भएको वैदिक मान्यता पाइन्छ ।” उहाँले भन्नुभयो, “अर्को हातमा रहेको पुस्तकलाई अक्षरको स्रोत मानिएको छ । क्षय नहुने रचनालाई अक्षर भनिन्छ । लेखिएका कुराहरू कहिल्यै नाश हुँदैनन् भन्ने भावबाट नै मानव सभ्यताले लेख्य भाषाको विकास र परिष्कार गरेको पाइन्छ ।”

उहाँले वसन्त पञ्चमीकै दिन बालबालिकाहरूलाई घरमै अक्षरारम्भ गराउने वा विद्यालय भर्ना गर्ने, कला-सङ्गीतका साधकहरूले आफ्ना कुची एवं वाद्य यन्त्रहरूलाई सरस्वतीकै देन मानेर पूजा गर्ने परम्परा विकास भएको पनि बताउनुभयो । 

राष्ट्रपति भण्डारीले नवीन कार्यको प्रारम्भ गर्न र साइत जुराउनु पर्ने शुभ कार्यका लागि समेत यही दिनलाई रोजी विवाह,  व्रतबन्ध आदि गर्ने प्रचलन रहिआएको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ  ।

वसन्त पञ्चमीको प्राकृतिक महत्त्व उत्तिकै छ भन्नुहुँदै उहाँले साहित्यकार र कविहरूका लागि वसन्त आफैँमा नयाँ रङ्ग र फूलहरूको उत्सव भएको बताउनुभयो । उहाँले वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै हिउँदको जाडोबाट क्रमशः न्यानो हुँदै जाने हुनाले आजको दिनले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँने पनि बताउनुभयो । 

राष्ट्रपति भण्डारीले आजको दिन गरिने वसन्त श्रवण र सरस्वती पूजा केवल औपचारिकता मात्र होइन भन्नुहुँदै हाम्रो जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन सिर्जनाका लागि प्रेरित गरिरहने अवसर पनि भएको बताउनुभयो । 

यस पर्वको माध्यमबाट मौलिक संस्कृतिको संरक्षण एवम् संवर्द्धनका साथै मुलुकको सामाजिक तथा सांस्कृतिक विविधता बीच एकता कायम गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन समेत योगदान पुग्ने उहाँको विश्वास छ  ।  

 

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ८ : ३५ बजे