‘एउटै नाउरको सिकार गर्न २३ लाख’

नेपाली काँग्रेस : ध्यान राष्ट्रपतिको, रटान राष्ट्रिय सहमतिको

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेताहरू हिजोआज राष्ट्रिय सहमतिको रटान लगाउन थालेका छन् । सबै आफैँले खान सुर कसेपछि सबै गुमाएको नेपाली काँग्रेस आगामी राष्ट्रपतीय निर्वाचनमा जितेर एमालेसँग बदला लिने दाउमा देखिन्छ । एमालेको नेतृत्वमा दर्बिलो सत्ता गठबन्धन बनेको र आफू सम्पूर्ण रूपले सत्ता बाहिर हुनुपरेको डाह समन गर्न चाहन्छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि नेपाली काँग्रेस सत्ता गठबन्धन दलकै भोट चोरेर राष्ट्रपति आफ्नो पोल्टामा पार्ने रणनीतिमा रहेको घामजस्तै छर्लङ्ग छ । वर्तमान सत्ता गठबन्धनमा सामेल माओवादी लगायतका अन्य दललाई एमाले र ओलीको हाउगुजी देखाएर आफूतिर आकर्षित गर्न चाहन्छ ।

राष्ट्रिय सहमतिलाई नेपाली काँग्रेसले जाँगरको बाँसुरीजस्तो बनाएको छ । बेला बेला बजाउँछ, बेला बेला चपाउँछ । आफूलाई सजिलो परेको बेला, नेपालका कम्युनिष्ट फुटेको बेला उसलाई राष्ट्रिय सहमति चाहिँदैन । देशलाई साँच्चिकै सङ्कट परेको बेला उसलाई राष्ट्रिय सहमति चाहिँदैन तर उसलाई पद चाहियो भने राष्ट्रिय सहमति चाहिन्छ । 

नेपाली काँग्रेसको नेतृत्वको गठबन्धन भत्किएपछि बनेको वर्तमान सत्ता गठबन्धनले प्रधानमन्त्री, सभामुख, सङ्घीय सरकार, प्रदेश सरकार र संसद्मा सफलतापूर्वक भागबन्डा टुङ्ग्याएका छन् । अब एमालेको भागमा परेको राष्ट्रपतिको चुनाव सम्पन्न हुन बाँकी छ । प्रष्टै छ–आगामी राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार र नेपाली काँग्रेसका उम्मदवारबीच प्रतिस्पर्धा हुनेछ । 

नेपाली काँग्रेस अहिले ओली फोवियाबाट आक्रान्त छ । ओलीको राष्ट्रिय अन्तर्राष्ट्रिय उचाइ देखेर ऊ अवाक् छ । त्यही भएर नेपाली काँग्रेस एमालेले उठाएको राष्ट्रपतिले जिते देशलाई खतरा हुने, प्रचण्डलाई अप्ठ्यारो पर्ने, संविधानको रक्षा हुन नसक्ने जस्ता उटपट्याङ तर्क गर्दै आएको छ । अर्कातिर आफ्नो उम्मेदवारले जिते मात्र सब ठिकठाक हुने र त्यसका लागि राष्ट्रिय सहमति हुनुपर्ने धारणा अगाडि सारेको छ । राष्ट्रपतिको चुनावलाई आधार बनाएर वर्तमान सत्ता गठबन्धन भत्काउने उसको मुख्य विषय हो । खास गरी एमाले–माओवादी सम्बन्धभित्र खेलेर आफ्नो गुमेको साख फिर्ता गर्न गरिने प्रयत्न हो ।

राष्ट्रपति निर्वाचनमा मतभारलाई हेर्ने हो भने सत्ता गठबन्धन निकै सुविधाजनक अवस्थामा छ । अर्थात् प्रतिपक्षी मतभारभन्दा सत्ता गठबन्धनसँग झन्डै १२ हजारभन्दा बढी मतभार छ । कोही एक दुई जनाको मत चोर्दैमा सत्ता गठबन्धनलाई पराजित गर्ने सम्भावना नै छैन । अर्थात् सत्ता गठबन्धनमा ठुलै पहिरो नगई नेपाली काँग्रेसले सो पद हात पार्न सक्दैन । 

वर्तमान सत्ता गठबन्धनमा कम्युनिष्टहरूको सिंहको भाग ( Lion’s Share) छ । सत्ता गठबन्धनको प्रमुख दल नेकपा (एमाले) र दोस्रो ठुलो दल नेकपा (माओवादी केन्द्र)बीच मुख्य पद प्रधानमन्त्री र राष्ट्रपति बाँडफाँट गरेका छन् । 

कोही अनभिज्ञ छैनन्– नेपालका कम्युनिष्टहरू एकता र विभाजनको लामो शृङ्खलाबाट गुज्रिएका छन् । विभाजनले उनीहरूलाई घाटै घाटा दिएको छ भने एकता र सहकार्यले उनीहरूलाई सुनौला अवसरका ढोका खोलिदिएको छ । पछिल्लो कम्युनिष्ट विभाजनबाट पाएको धक्काबाट शिक्षा लिएर सहकार्यमा जुटेका ओली र प्रचण्डले लामै सहकार्य गर्ने सुन्दर सङ्केत देखा परेका छन् । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादी बीचको सहकार्य लामो समयसम्म हुने बताइरहनुभएको छ । वर्तमान सत्ता गठबन्धनका किङ मेकर के पी शर्मा ओली लामो सत्ता सहकार्यका लागि, कम्युनिष्ट एकता र सहकार्यका लागि अढाइ–अढाइ वर्षको प्रधानमन्त्रीको आलोपालो ढुकेर नबस्ने आफ्ना निकटस्थलाई बताइरहनुभएको छ । दुई प्रमुख नेताहरूको यो सुझबुझले सत्ता गठबन्धन पाँच वर्ष टिक्ने प्रचुर सम्भावना छ । गठबन्धनमा सामेल अरू दलहरू पनि टीम स्प्रिरिटमा काम गरिरहेको सन्दर्भमा नेपाली काँग्रेसले राष्ट्रपतिको आस केवल मृगमरीचिका हो । आकाशको फल हो ।

नेपाली काँग्रेसका हरेक राजनीतिक चुक्लीबाट पाठ सिकेका कम्युनिष्टहरू आज परिपक्व राजनीति गर्ने चरणमा आइपुगेका छन् । अहिलेको उसको राष्ट्रिय सहमतिको रटानको अन्तर्य पनि राम्रैसँग बुझेका छन् । र, राष्ट्रपति जस्तो राज्यसत्ताको सर्वोच्च पद, जसले गम्भीर र संवेदनशील विषयमा देशलाई गलत बाटोमा जान नदिने संवैधानिक तागत राख्छ,लाई उनीहरू कुनै पनि हालतमा गुम्न दिँदैनन् । राष्ट्रपति,उप राष्ट्रपति र प्रधानमन्त्री कम्युनिष्टको हातमा राख्नु २०७४ सालमा बनेको वाम गठबन्धन र साबिक नेकपाको निरन्तरताको अर्थमा बुझ्नु एमाले र माओवादी दुवैको लागि हितकर हुन्छ । 

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ९ : ३० बजे