‘एउटै नाउरको सिकार गर्न २३ लाख’

प्रतिपक्ष हुन कहिल्यै नजान्ने देउवा काङ्ग्रेसको (अ)विश्वासको मत

देउवा काङ्ग्रेस कहिल्यै प्रतिपक्षी हुन जान्दो रहेनछ । त्यसैले त नेपाली काङ्ग्रेस र देउवा काङ्ग्रेसमा पूरै भिन्नता देखिन्छ । नेपाली काङ्ग्रेस पूरै कार्यकाल नभए पनि केही समय प्रतिपक्षमा बस्छ तर देउवा काङ्ग्रेस कहिल्यै प्रतिपक्षमा बस्दैन र बसेको रेकर्ड नै छैन । हुन त नेपाली काङ्ग्रेसलाई पनि प्रतिपक्षमा बस्नु र माछालाई बगरमा बस्नु उस्तै हो, तर देउवा काङ्ग्रेसलाई त प्रतिपक्ष कुन चराको नाम हो त्यो पनि थाहा छैन । नेपाली काँग्रेसभित्र केही प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्नेहरूको अरण्यरोदन सुनिन्छ तर त्यो त्यतै कतै बिलाउँछ ।  

देउवा काङ्ग्रेसभित्र गुम्सिएर बसेको नेपाली काङ्ग्रेस अहिले निकै सकसमा छ अर्थात् यसो भनौँ अहिले नेपाली काङ्ग्रेस देउवा काङ्ग्रेसको चपरीमुनि छ । चपरी मुनिबाट बेला बेला विश्वप्रकाशले अलिकति जुनकिरीले झैँ हो कि हो कि झैँ गरी प्रकाश छर्न खोज्छन् । गगनले बेला बेला गनगन गरेको गाइँगुइँ नि सुनिन्छ, चपरी पल्टाउन शेखरले खटपटी भएर खरखर गरेको नि देखिन्छ । तर चपरी अलिकति हल्लिन थाल्यो कि कहिले टपरी टकटक्याउँदै  तनहुँ तिरका बाजे आएर थचक्क त्यै चपरीमाथि बसिदिन्छन् । कहिले क्षेत्रपाटी तिरका एक सेँठ आएर त्यसैमाथि सागको खर्पन राखिदिन्छन् । जनकपुर तिरका एक दादा आएर के के विधि निधि र खजाना भएको ढकिया त्यै चपरी माथि राखिदिन्छन् ।  माटाको चपरी बरु फुट्ला तर पल्टिने त के कुरा त सोच्दै नसोचे हुन्छ ।

   तपाईँहरूलाई लाग्ला, केपी ओली प्रधानमन्त्री हुँदा देउवा काङ्ग्रेस प्रतिपक्षमा थियो नि । तपाईँ मान्नोस् या नमान्नोस् काङ्ग्रेस प्रतिपक्षमा छँदै थिएन । प्रजातन्त्रमा प्रतिपक्ष नभई नहुने हुँदा  लोकतन्त्र जोगाउन र प्रतिगमन सच्याउन भन्ने नाटक गरेरै भए पनि त्यो बेला देउवाका सट्टा “बिना भिसा के ढेउवा” प्रखर प्रतिपक्षी थिए । उनले त्यो प्रतिपक्षीका लाइनमा जब कामरेड प्रचण्डलाई पनि जबरजस्ती तानेर आफ्नो कित्तामा ल्याए त्यसपछि के के भो त्यो सन्दर्भ यहाँ लेख्नै परेन । तर देउवा काङ्ग्रेस चाहिँ केपी ओलीको प्रधानमन्त्रित्वकालमा प्रतिपक्षी दल सोह्रै आना थिएन भनेर त भन्नै पर्‍यो । अझ भनेर मात्र भएन त्यसलाई प्रस्ट पार्नै पर्‍यो ।

अँ, के पी ओली प्रधानमन्त्री हुँदा देउवा काङ्ग्रेस कसरी प्रतिपक्षमा थियो ? त्यस बेलाका राजनीति नियुक्ति होस् वा संवैधानिक नियुक्ति सबैमा सत्ता पक्षमा रहेझैँ गरी भनूँ वा सत्ता सहयात्री दल हो कि झैँ गरी बाल्कोटे बाले नियुक्ति पनपच्छे गरेकै थिएनन् । सुदूरपश्चिम विश्वविद्यालय र पोखरा विश्वविद्यालयका नियुक्ति हेरम् कि लोकसेवा, र विभिन्न आयोगका नियुक्ति हेरम् कहीँ पनि बाल्कोटे बा ले देउवा काङ्ग्रेसलाई दिन कन्जुस्याइँ गरेनन्, जापानको राजदूत नैवेद्य पनि खान दिएकै हुन् । त्यै भएर होला देउवा काङ्ग्रेसको चपरी मुनिका नेपाली काङ्ग्रेसका गगनहरू र मिनेन्द्रहरू बेला बेला गनगन गर्थे । तर देउवा काङ्ग्रेस जब परमादेशबाट चमत्कारिक ढङ्गले सत्तारुढ भयो त्यसले बाल्कोटे बा र उनको पार्टीलाई मटियामेट पार्न के के जाति गतिविधि गर्‍यो र के के भयो त्यो चैँ यहाँ नभनम् ।

बाल्कोटे बाको चट्टानी पहरोमा त्यति बेला धेरैले कुहिनो ठोके । बाल्कोटेलाई बाल्कोट पुर्‍यायौँ भनेर भतेर गरे । तर जनादेशका प्रधानमन्त्री बाल्कोटे बा कुन्नि के जाति आदेशबाट बालुवाटारबाट बाल्कोट पुगेपछि बार्दलीबाट हात हल्लाउँदा बाल्कोटे बाका अनुहारमा भएको खुसीले बार्दलीको शक्तिको रहस्य अहिले उजागर गरिरहेछ ।  अँ … म भन्दै थिएँ नि बालकोटे बाले त्यति गुन लगाएका देउवाले परमादेशपछि र चुनाव अघिसम्मका विगत सत्र महिनासम्म बाल्कोटे बालाई दिनुसम्म सास्ती दिए । बाल्कोटे बाले नेतृत्व गरेको पार्टीले सशक्त प्रतिपक्षको भूमिका निभायो । उल्टै बाल्कोटे बा र बाले नेतृत्व गरेको दललाई निमिट्यान्न पार्न न्वारानदेखिको बल लिएर लागे । कठै, प्रतिपक्षी विरुद्ध सत्ता पक्षीय चुनावी गठबन्धन भएको कहीँ नभएको जात्रा झैँ गरी लोकतन्त्रको हुर्मत लिएको त्यो क्षण !

र, अहिले फेरि आफूले गोल चक्करमा पारेर घुमाएका प्रचण्ड कामरेडको प्रधानमन्त्री पदाकाङ्क्षाको हेलिकप्टरले  बालकोटको बार्दलीमा फोर्स ल्यान्डिङ गर्‍यो र उनले त्यो पद प्राप्त गरे । यसरी नियतिले मात्र होइन लोकतान्त्रिक मूल्य र मान्यताको शिक्षालयले समेत जब सशक्त प्रतिपक्षीका पाठ्यसामग्री पढ्न भनेर देउवा काङ्ग्रेसलाई खटायो । प्रतिपक्षी कक्षाको सेक्सन ए मा बसेर कक्षाकोठा पनि देखायो । प्रतिपक्षी कोर्सका पुस्तक देखेपछि उँघ्ने, हाइ काढ्ने र सत्तापक्षमा जसरी पनि घुस्रिन राल काढ्ने प्रतिपक्षी कक्षाका मनिटर अर्थात् त्यस दलका संसदीय दलका नेताले त्यही कक्षामा हाजिर हुनका सट्टा सत्तापक्षको कक्षामा गएर “यस् सर” भन्दै अर्काका नाममा आफ्नो विश्वास छ भनी हाजिरी गरी लोकतान्त्रिक पाठ्यक्रमलाई च्यातच्युत पारे ।  किनकि उनले प्रतिपक्षी दलको कक्षाकोठाबाट निस्केर अर्को कक्षामा हाजिरी बजाउनु भनेकै आफैमा विचित्रको कदम थियो । लैनु पाडाले बाटामा खुट्टाले टेक्नै नजाने झैँ प्रतिपक्षी हुन आफू कहिल्यै नजान्ने देउवा काङ्ग्रेसको चपरीमुनिका नेपाली काङ्ग्रेसहरूले विगतमा महाधिवेशनको पानी पारेर गलाउन खोजेको चपरीलाई पनि दमौलीतिरका पौडेलले पानी कागज ओढाएर होस् वा क्षेत्रपाटी तिरका साहुजीले छाता ओढाएर होस् अथवा सिटौला बाजेले टाँण पारेर सिलौटाले ढाकेर होस् नेपाली काङ्ग्रेसलाई चपरीमुनिबाट निस्कन दिएकै छैनन्, सातो लिएका लियै छन् ।

अँ अहिले वामपन्थको पावरवाला चस्मा लगाएर हेर्नेहरूका दृष्टिमा राजनीतिको कोर्स अलिकति सच्चिएको हो कि भन्ने आभास हुँदो छ । किनकि एउटै विशाल वामपन्थी पार्टी बनाउने सपना बोकेका थिए केपी र प्रचण्डले । त्यो कुरा पार्टीलाई कुँजो बनाएर राखेका कतिपय रजौटालाई पचेन । हेर्नुस् त कति सुन्दर सपना थियो त्यो । तर स्वाभाविक रूपमा वाम एक हुने  र वाम एकतामर्फत् अकूत सिट सम्पत्ति हात पार्न सकिने कुराबाट विचलित पार्ने गोलचक्करवादीहरूका काला जादुमा प्रचण्ड परे ।

वाम एकताको समय कुर्न हतार भएर होला आफ्नो प्यारो वाम मातृभूमि छाडेर कतार गए झैँ कामरेड प्रचण्ड हिजो देउवा काङ्ग्रेससँगको गठबन्धनमा जाने स्थिति बलात् सिर्जना भो । त्यो त सम्पन्न र सम्भावना भएका नेपालीहरू आफ्नो सिरिखुरी बेचेर वैदेशिक रोजगार गए जस्तै हो कि झैँ पो भयो । आफ्नो घरखेतबाट आर्जन गरेको ५३ लाख ( ५३ सिट ) स्वाहा पारेर मातृभूमि छाडेर भक्कानिँदै उनी कतार हुँदै बिदेसिए, त्यहाँबाट अहिले जम्माजम्मी ३२ लाख ( सिट ) कमाएर फर्के । आखिर घाटाको व्यापारबाट आर्जन गरेको त्यो सम्पत्तिमा अहिले अलिक सस्तो व्याजमा ‘बाल्कोट कल्याणकारी कोष” बाट आवश्यक पर्ने सिटका ऋण खोजेर प्रधानमन्त्री भए । तर उनलाई  “बुढानीलकण्ठ सहकारी संस्था”को चर्को व्याजको चाहिँदै नचाहिएको ऋणको बोझ बोकाइयो । त्यसको पहिलो किस्ताको व्याज “ “सहमति म्याउँ म्याउँ खजाना कोष” मा हाल्नुपर्छ भनेर सकस पारेका पार्यै छन् ।

आफ्नो प्यारो मातृभूमिमा फर्केका प्रचण्डलाई पुनः कतार गएर घाटाको व्यापार गर्ने परिस्थिति नबनोस् । प्रचण्डले पनि प्रतिपक्षी कक्षाका विद्यार्थीलाई प्रतिपक्षको सुरक्षित आसनमा बस भन्न सक्नु परो । खु(मलटार) बा (लकोट) अर्थात् “खुबा” मिलेर मुलुकलाई स्थिरता, विकास र समृद्धिको खुवा खुवाउनु परो । अब उनले अरूले भड्काएकै भरमा आफ्नो वाम मातृभूमि छाडेर जाने पटके भुल पटक्कै गर्नुभएन । यसपल्ट पहिले जस्तो पैसा खर्च गर्न पर्दैन ‘बिना ढेउवा के भिसा मिल्ता है ‘गलगलियाके रास्ते मै लेजाउँगा’ भन्दै ललिपप देखाउलान्, फकाउलान् र फसाउलान् र उही कतार तिरै घिसार्लान् नि फेरि !

आफूलाई वचनको पक्का भनेर आफै सधैँ दाबी गर्ने कामरेड प्रचण्डबाट आफैले गर्ने गरेको सो दाबी झुटो हुने गरी बालकोट हेलिप्याडमा गरेको सहमति पालना हुन्न भनेर कसै कसैलाई सुगर बढ्ने गरी मनका लड्डु खान छुट छ । तर प्रचण्डले जुन कोर्स पढेर प्रधानमन्त्री बने, परीक्षामा अर्को कोर्स अनुसारको उत्तर लेख्लान् भन्ने नठाने हुन्छ । किनकि प्रचण्डलाई थाहा छ, एउटा कोर्सबाट प्रश्न आएका बेला अर्कै कोर्सको उत्तर लेख्दा नतिजा राम्रो निस्कँदैन । त्यसैले देउवा काङ्ग्रेसको नपच्ने विश्वासको मतको जथाभाबी सेवन गर्ने र पदको स्वास्थ्यमा गडबडी आउने काम पनि उनीबाट हुने कुरै भएन ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ८ : १४ बजे