बजेटरी सहायता बढाउन विश्व बैंकलाई अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौं  । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैंकलाई आग्रह गर्नुभएकाे छ । विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोससहितको प्रतिनिधि मण्डलसँगको भेटमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले बजेटरी सहायताको दायरा बढाउन आग्रह गर्नुभएकाे हाे ।  

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षमा विश्व बैंकबाट बजेटरी सहायता प्राप्त हुने गरी विनियोजन भई प्राप्तिका लागि आवश्यक पूर्व कार्यहरु  पूरा गर्न अर्थमन्त्रालयले प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयाे । 

विश्व बैंकको सहायतामा सञ्चालित आयोजनाहरुमा देखिएका समस्याहरुको कारण पहिचान गरी समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले कमजोरी र गुनासा नआओस् भन्नेतर्फ आफूले ध्यान दिएको बताउनुभयाे । 

विभिन्न क्षेत्रमा विश्व बैंकले गरेको सहयोगको प्रशंसा गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले माथिल्लो अरुण, ग्रामीण सडक लगायतका आयोजना नेपालको प्राथमिकतामा रहेको जानकारी  गराउनुभयाे । 

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले विश्व बैंकसँगको सम्बन्ध अझ घनिष्ठ हुने र सहयोगले थप उचाइ लिने विश्वास व्यक्त गर्दै आयोजनाहरु सफल बनाउन राजनीतिक नेतृत्वको सहयोग हुने बताउनुभयाे । 

विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलको कार्यशैलीप्रति आफू जानकार र प्रभावित रहेको उल्लेख गर्दै विश्व बैंकको सहायतामा सञ्चालित आयोजनाहरु प्राथमिकतामा पर्ने विश्वास व्यक्त गर्नुभयाे। उहाँले विश्व बैंकको सहायतामा सञ्चलित आयोजनाहरुमा देखा परेका समस्याहरु समाधानका लागि सहजीकरण गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेललाई आग्रह गर्नुभयाे । 
 

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १ : ५६ बजे