केही दिन पहिले भारतको बम्बैहुँदै पुनेसम्मको भ्रमणको क्रममा डेरी इक्युप्मेण्ट सप्लायर्स रेपुट कम्पनीका मालिक विश्वनाथन उदिपिले गफगाफको क्रममा भनेका थिए ‘नेपालका मानिसको जीवनस्तर राम्रो छ’ । उनी पटक पटक नेपाल आउजाउ गर्ने मानिस हुन् । उनले यो भनाइलाई पुष्टि गर्न नेपालमा उनले देखेका नेपालीका घर, नेपालीका सम्पत्ति, जग्गा जमिन, खर्च गर्ने बानी, खानपिन, लवाई खवाई आदिलाई आधार बनाएका थिए । मैले धेरै प्रतिवाद गरिन । गहिराइमा जान चाहिन । किनकि उनले देखेको राम्रो भित्रको नराम्रो खोतलेर किन आफ्नो कमजोरी अरूको सामुन्ने राख्नु भन्ने लाग्यो ।
पछिल्लो समय नेपालीको आम्दानीको प्रमुख श्रोत बन्ने गरेको छ वैदेशिक रोजगारीको आम्दानी । कृषिको आम्दानी घट्दै छ । कृषिको आम्दानी र उत्पादन घटे पनि आयात र व्यापार बढेको छ । वैदेशिक रोजगारीबाट हुने आम्दानीबाट कारण गाउँका युवा विदेश गए । गाउँमा खेतीयोग्य जमिन बाझियो । उत्पादन घट्यो तर आवश्यक बस्तुको अभाव बजारमा भएन । त्यो आयातले धान्यो । मानिसको खर्च गर्न सक्ने क्षमता बढेको छ । बजारको बिस्तार भएको छ । गाउँ गाउँसम्म बाटो पुग्यो, बाटोसँगै सहजै सवारीका साधन र सहर हुँदै विदेशी उत्पादन गाउँ पुगे । मानिसले त्यसलाई उपभोग गरिदिए । बदलामा गाउँबाट सहर र विदेश पठाउने भनेको युवा मात्रै भयो ।
गाउँ र नजिकका सहरमा आवश्यकता र शानका लागि घर बने । सक्नेले अलिकति नजिकैको सहरमा घर घडेरी जोडे । सहरका स्कुलमा छोरा छोरी पढ्न थाले । घरमा ठुलो भित्ते टिभी, भान्सामा फ्रिज र यस्तै अरू समान जोडिए । हात हातमा स्मार्ट फोन नहुने कोही छैनन् भन्दा हुन्छ । गाउँमा पनि साइकल भेटिँदैन मोटरसाइकलको सङ्ख्या ह्वात्तै बढ्यो, यसलाई चार चक्के सवारीले पछ्याउन थालेको छ ।
आवरणमा देखिने यो तहको सम्पन्नता हेर्दा नेपालमा कोही गरिब छन् जस्तो लाग्दैन । त्यसैले उदिपिले अनुमान गरे नेपालीहरू धनी छन् । तर वास्तवमा अवस्था यस्तो हो भन्ने मलाई लाग्दैन । हाम्रो अहिलेको देखिने सम्पन्नतो जग एकदमै कमजोर छ भन्ने मेरो बुझाई हो । हामी एक छाक, दुई छाक मिठो खान र अरूका अगाडि मैले खाए नि भनेर फुर्ती देखाउन, सुनाउन खासै मेहनत गर्नु पर्दैन । त्यति मात्रै होइन अल्पकालीन सुख सुविधा र सम्पन्नता त ऋण काढेर, भएको सम्पत्ति बेचेर, अरूलाई ढाँटेर, छक्याएर, दलाली गरेर, भ्रष्टाचार गरेर सजिलै प्राप्त गर्न सकिन्छ ।
हाम्रो सम्पन्नताको श्रोत या त रेमिटको बाटोबाट आएको छ या त भएको सम्पत्तिको मूल्य बढेर आएको हो । सम्पत्तिमा विशेष गरी जग्गाको भाउ बढेका कारण जग्गा हुने मानिस स्वतः धनी हुन पुगे । उनीहरूले कुनै मेहनत नै गर्नु परेन । यसरी भाउ बढेर धनी भएकाहरू धनी भइरहने भनेको भएको जग्गा बेच्न पाउञ्जेल मात्रै हो । यसले एक पुस्तालाई पुग्ला । जग्गाको व्यापार गरेर धनी भएकाहरूको हकमा पनि जग्गा सस्तोमा किन्ने र महँगोमा बेच्ने समय छउञ्जेल हो । यो व्यापार पनि दिगो हुँदैन । रेमिट ल्याउने भनेको त उमेर छउञ्लेल र हात खुट्टा चलुन्जेल मात्रै हो ।
अर्का एक थरी मानिस चाँडो चाँडो धनी भएको देख्छौँ, त्यो भनेको राज्य शक्तिको पहुँचमा भएका मानिस जस्तै राजनीतिज्ञ, कर्मचारी, प्रहरी, सेना, न्यायाधीश । यी बाहेक राज्यका शक्तिशाली पदमा भएकाहरूसँग निकट सम्बन्ध राखेर अपारदर्शी व्यापार व्यवसाय र उद्योगधन्दामा लागेका मानिस वा यस्ताको काम मिलाइदिने दलाली पेसामा संलग्नहरू । सेवा व्यवसायका नाममा पनि व्यवसायभन्दा बढी दलाली नै चल्ने गरेको छ । जस्तै वैदेशिक रोजगार कम्पनी, कन्सल्टटेन्ट कम्पनी, निर्माण कम्पनी, स्वास्थ्य सेवा, शिक्षा सेवा जस्ता जनसरोकारका धेरै सेवा व्यवसायले गाउँ गाउँसम्म (मध्यस्थकर्ता) दलालको सञ्जाल निर्माण गरेका छन् । पहिला पहिला सरकारी खरिद बिक्रीमा मात्रै सीमित हुने गरेको कमिसन प्रथा अहिले समाजका सबै क्षेत्रमा व्यापक बनेको छ । भ्रष्टाचारबाट हुने कमाई कसले खाएको छैन होला ? सदाचारको कमाइले कसलाई खान पुगेको होला ? भन्ने समाजको अवस्था छ । यी सबै अस्थायी आम्दानीका श्रोत माथिको भरमा अडिएको नेपाली सम्पन्नता कति दिगो हुन्छ भन्ने मेरो चिन्ता हो । यस्तो लाग्छ सोझो कमाइले त मानिसले सामान्य जीवन मात्रै धानेको छ । तर समाजमा धनीहरूको सङ्ख्या निकै बढेको छ । यो सङ्ख्या कतिको टिकाउ छ भन्ने पनि प्रश्न हो ।
समाजवादको बाटोमा हिँड्ने भनेर घोषणा गरेको नेपाली अर्थतन्त्रको व्यवहार भने केन्द्रदेखि गाउँसम्म दलाल अर्थतन्त्रको मार्गमा हुइँकिएको छ । राज्य यसको जालो तोड्न सक्दैन । दलाल अर्थतन्त्रको मार्गमा हिँड्ने बानीले तत्कालको फाइदा देखिदा मानिसले दिगो फाइदाको खोजी नै गरेनन् । यसले हाम्रो उत्पादनको सम्भावनालाई बिर्सिएर आयातमा रमाउन पुग्यो । जसको कारण प्रतिस्पर्धात्मक क्षमताको विकास हुनै पाएन । न जोखिम लिने क्षमताको विकास भयो न सिप सिक्ने आवश्यकता पर्यो । जनता विप्रेशष, दलाली, कमिसन, बढेको जग्गाको मूल्यको भरमा रमाउने र सरकार भन्सार राजस्वको भरमा रमाउने भएपछि हुने यस्तै हो ।
जमिन हाम्रो उत्पादनको साधनभन्दा बढी सम्पत्तिको थुप्रो बन्न पुग्यो । भएको जमिनमा उत्पादन गर्ने होइन बाँझो राखेर भए पनि भाउ बढिरहेको छ भनेर सन्तुष्ट हुने अवस्था छ । आम्दानी हुनेले अनुत्पादक क्षेत्र जग्गा र घर घडेरीमा लगानी गर्ने चलन बस्यो । उत्पादनको क्षेत्रमा लगानी गर्ने वातावरण नै बन्न सकेन । नेपालमा व्यवसाय र उद्योगमा लगानी गरेर नाफा कमाउन सकिन्छ भन्ने मान्यता बनाउन समय लाग्ने देखिन्छ । अनेक प्रकारका सरकारी झमेला पहिलो अवरोध हुन् । दोस्रोमा महँगो जमिन, तेस्रोमा व्यवस्थापकीय क्षमता र इमानदारिताको कमी । प्रतिस्पर्धी क्षमताको कमी । यी र यस्ता कारणले उत्पादनमा समाज निकै पछाडि छ । जबसम्म हामी उत्पादनमुखी अर्थतन्त्रको विकास र मूल्यमा आधारित सेवा व्यवसायको विकास गर्न सक्दैनौ तबसम्म दिगो अर्थतन्त्रको सम्भावना नै हुँदैन । मेरो विचारमा हामीले दिगो अर्थतन्त्र विकासको जग नै सुरु गरेका छैनौँ । ‘लुटी ल्यायो भुटी खायो’ भन्ने उखाने अर्थतन्त्रको अवस्थामा हामी छौँ । त्यसैले हामी हुनेले अलि सजिलै र बढी नै खर्च गर्न पछि पर्दैनौँ । मेरा भारतीय मित्र विश्वनाथन उदिपिले देखेको नेपालीको सम्पन्नता यसैमा आधारित छ भन्ने मेरो बुझाई हो ।
हामी उत्पादनमा लागेका छैनौँ । भएको उत्पादनका साधनहरू प्रतिस्पर्धामा टिक्न नसक्ने भए, उत्पादन गर्न नसक्ने भए । जमिन उत्पादनको साधन भएन । कारखाना, उद्योग विदेशी सामानका अगाडि टिक्नै नसक्ने भए । टाठा बाठा भनिएकाहरू सबैजसो दलाली पेसामा संलग्न छन् । कमिसनका लागि काम गर्छन् । उत्पादनमा लाग्नु पर्ने युवा जनशक्ति विदेश पलायन छन् । खै कहिले कसले कसरी सुरु गर्ने होला दिगो समृद्धिको आधार ः उत्पादन मुखी अर्थतन्त्र र मूल्यमा आधारित सेवा व्यवसाय ।
प्रकाशित मिति : ७ माघ २०७९, शनिबार ८ : ३० बजे
प्रतिक्रिया