गृह मन्त्रालयले गर्‍यो प्रजिअसहित राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका ७० कर्मचारीको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका ७० कर्मचारीको सरुवा गरेको छ । 

बिहीबार सरुवासम्बन्धी जारी भएको मापदण्डको आधारमा मन्त्रालयले प्रजिअको काज सरुवा गरेको हो । 

बिहीबारको उपप्रधान तथा गृहमन्त्री स्तरीय निर्णयअनुसार राजपत्राङ्कित प्रथम श्रेणीका ४९ प्रजिअ, सहायक प्रजिअलगायतका कर्मचारी र राजपत्राङ्कित द्वितीय श्रेणीका नौ प्रमुख जिल्ला अधिकारी, पाँच सहायक प्रमुख जिल्ला अधिकारी र छ उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । 

प्रथम श्रेणीमा रहनुभएका काभ्रेपलाञ्चोकका प्रजिअ हुमकला पाण्डेलाई सुनसरी, चितवनका प्रजिअ आसमान तामाङलाई गृह मन्त्रालय, सिन्धुपाल्चोकका वेदनिधि खनाललाई पर्सा, भक्तपुरका प्रजिअ रुद्रादेवी शर्मालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

सुनसरीका इन्द्रदेव यादवलाई सर्लाही, सिरहाका लालबाबु कवारीलाई गोरखा, दोलखाका भोजबहादुर खतिवडालाई सिराहा पठाइएको छ । गृहका शेखर पौड्याललाई दोलखा पठाइएको छ । 

प्राप्त विवरणअनुसार राजपत्राङ्कित द्वितीय श्रेणीका मुगुका प्रजिअ रोमबहादुर महतलाई नवलपरासी पश्चिम सरुवा गरिएको छ । रौतहटका प्रजिअ कृष्णबहादुर शाहीलाई सुनसरीको सहायक प्रजिअमा पठाइएको छ । 

इलामका प्रजिअ माधवप्रसाद ढुङ्गानालाई सप्तरीको सहायक प्रजिअमा, ताप्लेजुङका प्रजिअ महेशकुमार पोखरेललाई काभ्रेपलाञ्चोकको सहायक प्रजिअमा पठाइएको छ । 

गृह मन्त्रालयका उपसचिव गोमादेवी चेम्जोङलाई ताप्लेजुङको प्रजिअमा पठाइएको छ भने कालिकोटका प्रजिअ रामहरि शर्मालाई धादिङको सहायक प्रजिअमा सरुवा गरिएको छ । 

हुम्लाका प्रजिअ सीताराम परियारलाई इलाका प्रशासन कार्यालय साँखु, बझाङका प्रजिअ बाबुराम अर्याललाई इलाका प्रशासन कार्यालय चन्द्रौटा, बाराका प्रजिअ कृष्णबहादुर कटुवाललाई गृह मन्त्रालय, डोल्पाका प्रजिअ वेदनिधि अधिकारीलाई नुवाकोटको सहायक प्रजिअ र स्याङ्जाका प्रजिअ गङ्गाबहादुर क्षेत्रीलाई गृह मन्त्रालयमा ल्याइएको छ । 

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ७ : ५१ बजे