सुनको मूल्यमा नयाँ कीर्तिमान

मृत्युपश्चात् शरीरका सम्पूर्ण अङ्ग दान गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपश्चात् शरीरका सम्पूर्ण अङ्ग दान गर्ने घोषणा गर्नुभएको छ  । 

आज बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गर्नुभएको हो  ।

“मेरो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दछु”, उहाँले भन्नुभयो, “डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन। यो महँगो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो । केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने उद्देश्यले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ गर्‍यो। केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ। यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ।”

राष्ट्रिय प्रत्यारोपण केन्द्रले १० वर्षमा एक हजारभन्दा बढी मिर्गौला प्रत्यारोपण गरिसकेको छ । अहिले दैनिक केन्द्रमा चारदेखि आठ जनाको मिर्गौला प्रत्यारोपण हुने गरेको छ । 

यस्तै, दैनिक डेढ सयभन्दा बढी डायलिसिस हुने गरेको केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ११ : १३ बजे