एमाले स्कुल विभागले सुरु गर्‍यो कार्यकर्ताका लागि प्रशिक्षणको तेस्रो शृङ्खला 

​​​​​​​​​​​​​​​​​​​काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय स्कुल विभागले कार्यकर्ताका लागि बिहीबारदेखि पार्टी स्कुल (विषयगत प्रशिक्षण)को तेस्रो शृङ्खला सुरु गरेको छ । 

पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सञ्चालन गरिएको तीन दिने स्कुलमा यस पटक अखिल नेपाल महिला सङ्घमा आबद्ध नेता कार्यकर्ता सहभागी हुनुहुन्छ । 

पार्टी स्कुलमा बिहीबार पहिलो दिन पार्टीका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले प्रशिक्षणको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । 

त्यसपछि नेकपा (एमाले)स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा.राजन भट्टराईले ‘कूटनीतिक सम्बन्ध र भूराजनीति’, स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले ‘पार्टी र जनसंगठनबीचको अन्तरसम्बन्ध’ र पोलिटब्युरो सदस्य तथा स्कुल विभागका उपप्रमुख ईश्वरी रिजालले  ‘मार्क्सवादी दर्शन र सामाजिक रूपान्तरण’ का विषयमा प्रशिक्षण दिनुभयो ।

स्कुल विभागको कार्य तालिका अनुसार, आज दोस्रो दिन महासचिव शङ्कर पोखरेलले ‘मार्गदर्शक  सिद्धान्त जनताको बहुदलीय जनवाद’ विषयमा प्रशिक्षण दिनुहुने छ भने स्थायी कमिटी सदस्य तथा अनेमसंघ इन्चार्ज सीता पौडेलले  ‘अनेमसंघ र आगामी कार्यदिशा’, केन्द्रीय सदस्य तथा प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले ‘सूचना, सञ्चार र प्रविधि’ विषयमा र रामशरण प्याकुरेलले ‘सङ्गठन निर्माण, परिचालन र व्यवस्थापन’ विषयमा प्रशिक्षण दिनुहुने छ । 

त्यस्तै, प्रशिक्षणको तेस्रो तथा अन्तिम दिन उपमहासचिव प्रदीप ज्ञवालीले ‘महाधिवेशनको सिद्धान्त, कार्यक्रम र कार्यदिशा’, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमालले ‘निर्वाचन २०७९ को समीक्षा र आगामी कार्यदिशा’ विषयमा प्रशिक्षण दिनुहुने छ । त्यसैगरी लेखा आयोगका सदस्य भीम पौडेलले ‘सङ्गठनमा लेखा व्यवस्थापन’ विषयमा प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको विभागले जनाएको छ ।

प्रशिक्षणको कति उपयोगी हुन सक्यो, प्रभावकारिता के रह्यो, सहभागीहरूको विषयप्रतिको बुझाई कस्तो रह्यो भन्ने पत्ता लगाउन प्रशिक्षणको सुरु र अन्त्यमा जाँच लिने गरिएको छ । अन्त्यमा स्कुल विभागका प्रमुख ज्ञवालीले त्यसको परिणाम प्रकाशन र सहभागीहरूका थप जिज्ञासाको उत्तर दिने गरी प्रशिक्षण कार्यक्रम तय भएको छ । 

प्रशिक्षणमा यसपालि ३५ जनाको सहभागिता रहेको केन्द्रीय सदस्य एवम् विभागका सचिव पेम्वा लामाले जानकारी दिनुभयो । 

विभागले आफ्नो वार्षिक कार्य तालिका बमोजिम गत भदौ महिनामा अखिल नेपाल किसान महासङ्घ र युवा सङ्घ नेपालका लागि यस्तो प्रशिक्षण सम्पन्न गरेको छ । प्रशिक्षण जनसङ्गठनहरूबाट सुरु गरिएको छ ।  

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ७ : ४० बजे