सभामुखको निर्वाचन आज : घिमिरे र न्यौपानेबीच प्रतिस्पर्धा 

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख पदका लागि आज निर्वाचन हुँदै छ । 

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहान ११ः०० बजेदेखि मतदान हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सभामुखका लागि गठबन्धनबाट एमालेका देवराज घिमिरे र काँग्रेसका ईश्वरी न्यौपाने प्रतिस्पर्धामा हुनुहुन्छ । 

घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र माओवादी केन्द्रका हितराज पाण्डे रहनुभएको छ ।

न्यौपानेको प्रस्तावकमा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, समर्थकमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला र काँग्रेस सांसद रमेश लेखक हुनुहुन्छ ।

आजको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्य तालिका छ । त्यस लगत्तै उम्मेदवारीको सूचना माथिको सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ ।

सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गरिने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्ने प्रावधान छ ।

 

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ७ : ३२ बजे