पोखरा जहाज दुर्घटना : २२ शव आफन्तलाई बुझाइयो

गण्डकी । पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरूका परिवारजनलाई बुझाइएको छ । 

पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिनुभयो । 

उहाँका अनुसार मङ्गलवार भेटिएको शव पनि परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ । दुर्घटनामा परेका एक जनाको स्थिति अझै अज्ञात छ । यसअघि मङ्गलवार नै ४८ शवलाई काठमाडौँस्थित शिक्षण अस्पताल पुर्‍याइएको थियो ।

पहिचान र सनाखत हुन नसकेका, विदेशी नागरिक र चालक दलका सदस्यको शव काठमाडौँमा परीक्षण हुनेछ । शव क्षतविक्षत भएका कारण पहिचानका लागि डिएनए परीक्षण गर्नुपर्ने भएकाले आफन्तले शव पाउन अझै केही दिन लाग्ने देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले दुर्घटनामा बेपत्ता एक व्यक्तिको खोजी कार्य भइरहेको बताउनुभयो । 

मङ्गलवार पनि दिनभर गोताखोर र ड्रोन प्रयोग गरेर शवको खोजी गरिएको थियो । सेती नदीको पानीको सतह घटाएर खोजी गर्दा दुर्घटना स्थलभन्दा दुई किलोमिटर तल एउटा शव फेला परेको हो ।

“सोमबार शव खोज्दा हात, करङ र टाउकाको भाग छुट्टाछुट्टै भेटिएको थियो, त्यो दुई व्यक्तिको हो वा एउटैको हो, पत्ता लागाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो । ६८ यात्रसहित चार चालक दलका सदस्य लिएर आइतबार काठमाडौँबाट पोखराका लागि उडेको जहाज सेती खोँचमा खसेको थियो । रासस

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ९ : ४० बजे