डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन चैत २५ र २६ गते काठमाडौँमा 

काठमाडौँ । अखिल नेपाल महिला सङ्घ (अनेमसंघ)को सातौँ राष्ट्रिय सम्मेलन आगामी चैत २५ र २६ गते काठमाडौँमा हुने भएको छ ।

सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको २०७९ पुस २७ गते बसेको सातौँ सचिवालय बैठकले राष्ट्रिय सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा गर्ने निर्णय गरेको हो । 

नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा अनेमसंघका इन्चार्ज सीता पौडेल, स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको आतिथ्यमा सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीका संयोजक थममाया थापाको अध्यक्षतामा बसेको बैठकले सम्मेलन सम्पन्न गर्न विभिन्न १९ वटा उपसमिति गठन गरेको छ । 

बैठकले नीति तथा कार्यक्रम मस्यौदा, सामग्री व्यवस्थापन, राजनीतिक÷साङ्गठनिक प्रतिवेदन, निरीक्षण तथा अनुगमन, सम्पर्क समन्वय, अनेमसंघ र पार्टीको विकासमा योगदान दिने व्यक्तित्व सम्मान, जनपरिचालन, प्रतिनिधि छनौट तथा व्यवस्थापन, सांस्कृतिक, स्वास्थ्य, विधान मस्यौदा, मञ्च व्यवस्थापन, आर्थिक, प्रचारप्रसार, अतिथि सत्कार, यातायात व्यवस्थापन, आवास व्यवस्थापन, स्वयंसेवक परिचालन र खाद्य व्यवस्था उपसमिति गठन गरेको छ ।

बैठकमा पार्टी स्थायी कमिटी सदस्य तथा अनेमसंघ इन्चार्ज सीता पौडेलले राज्यका तीनै तहको निर्वाचनमा प्रत्यक्षतर्फ ३३ प्रतिशत  महिला उम्मेदवार बनाउनुपर्ने कुरालाई ऐन संशोधन गरी लागु गर्नुपर्नेमा जोड दिनुभयो ।

स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्र प्रमुख  भानुभक्त ढकालले पार्टीमा अनेमसंघको योगदान महत्त्वपूर्ण रहेको बताउँदै अनेमसंघमा युवा नेतृत्व विकासका साथै फरक क्षेत्रमा अनुभव हासिल गरेका महिलाहरूलाई स्थान दिनुपर्ने र अनेमसंघमा खारिएका नेतृत्वले पार्टीको विभिन्न तहको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो ।

 

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ८ : ०५ बजे