डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

गण्डकी प्रदेशमा आज सभामुखको निर्वाचन हुँदै 

काठमाडौँ । गण्डकी प्रदेशमा आज सभामुखको निर्वाचन हुने भएको छ ।

सभामुख चयनका लागि प्रदेशसभाको बैठक आज अपराह्न ३ः०० बजेका लागि बोलाइएको छ  । 

प्रदेशसभाको शुक्रवारको बैठकमा प्रदेशसभाको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश सभामुख चयन गर्न आज बैठक बोलाउनुभएको हो । 

सत्तारुढ गठबन्धनबाट गण्डकी प्रदेशको सभामुखमा नेकपा (माओवादी केन्द्र)का कृष्णप्रसाद धिताल उम्मेदवार बन्नुहुने भएको छ । 

नेकपा (माओवादी केन्द्र)गण्डकी प्रदेशसभा संसदीय दलको शुक्रवार साँझ बसेको बैठकले गोरखा क्षेत्र नं १ (१) बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित धिताललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । सो दलका नेता एवम् प्रदेश सरकारका विना विभागीय मन्त्री हरिबहादुर चुमानले दलको बैठकले सर्वसम्मत उम्मेदवार तय गरेको जानकारी दिनुभयो । 

सत्ता गठबन्धनमा माओवादी केन्द्रले सभामुख पाउने निर्णय यसअघि नै भइसकेको छ । यहाँ नेकपा (एमाले)ले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी भागबन्डा गरिएको थियो । 

सोहीअनुसार नेकपा(एमाले)का संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर प्रदेशसभाबाट विश्वासको मत पाइसक्नुभएको छ । गण्डकीमा गठबन्धनका पक्षमा बहुमत रहेकाले गठबन्धनका उम्मेदवार विजयी हुने निश्चित छ ।

प्रतिपक्षी दल नेपाली काँग्रेसले भने उम्मेदवार टुङ्गो लगाइसकेको छैन । काँग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेदवार तय गर्ने जिम्मा दलको नेतालाई दिएको छ ।

६० सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली काँग्रेसका २७, नेकपा (एमाले)का २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य हुनुहुन्छ ।  

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ७ : २७ बजे