दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

मध्य पहाडी लोकमार्ग बिस्तारले घरबारविहीन हुने भन्दै आन्दोलन

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको वसन्तपुर बजारमा मध्य पहाडी लोकमार्ग विस्तार गर्दा घर घडेरी क्षति हुँदा उठीबास हुने भन्दै बजारबासीले विरोध गर्दै आन्दोलन गरेका छन् । 

पुष्पलाल (मध्य पहाडी लोकमार्ग)विस्तार गर्दा आफूहरूको उठीबास हुने भन्दै वसन्तपुर बजारबासीले आन्दोलन गरेर विरोध जनाएका हुन् ।

बीच बजारबाट लोकमार्ग निर्माण हुँदा आफूहरूले बसोबास गरिरहेको घर घडेरीमा क्षति पुग्ने भन्दै बजारबासीले लोकमार्ग अन्यत्रबाट लैजान माग गर्दै उनीहरूले आन्दोलन गरेका हुन् ।  

नेपाल भारत सीमा पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाट जोड्ने पहाडै पहाड भएर निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग निर्माणको काम म्याङलुङ हुँदै वसन्तपुर बजारसम्म आइपुगेको छ । 

बजार क्षेत्र प्रवेश गर्ने चरणमा रहेको लोकमार्गको सर्भेको काम सम्पन्न भएर प्रारम्भिक वातावरणीय अध्ययनको काम सुरु गर्ने तयारी भइरहेका बेला केही बजारबासीले विरोध जनाएर प्रदर्शन गरेका हुन् । 

बीच बजारबाट लोकमार्ग निर्माण हुँदा यसअघि निर्माण भइसकेका घर भत्काउनुपर्ने अवस्था आउने र आफूहरू घरबार विहीन हुने भन्दै बजारबासीले लोकमार्ग निर्माण स्थलको विकल्प खोजी गर्नुपर्ने स्थानीय कृष्ण बस्नेतले बताउनुभयो ।

बीच बजारबाट लोकमार्ग निर्माण हुँदा मुख्य चोकको घर भत्काउनुपर्ने र आफूहरूको धेरै नोक्सान हुने विरोधमा उत्रिएका स्थानीय चुडामणि अधिकारीले बताउनुभयो । 

लोकमार्ग बजार क्षेत्रभन्दा दायाँबायाँ गरेर निर्माण गर्नुपर्ने माग आफूहरूको रहेको अधिकारीको भनाइ छ । बीच बजारबाट लोकमार्ग विस्तार भएर बजार क्षेत्रका एक सय बढी घरको अगाडिको भाग काट्नुपर्ने विरोधमा उत्रिएका स्थानीयको दाबी छ ।

बजारबासीले लोकमार्ग विस्तार गर्दा बजार क्षेत्रका घरमा क्षति नपुर्‍याई विस्तार गर्नुपर्ने वा हाल कायम रहेको सडकलाई नै प्रयोगमा ल्याउनुपर्ने आफूहरूको माग रहेको उद्योग वाणिज्य सङ्घ उपशाखाका अध्यक्षसमेत रहनुभएका स्थानीय रोशन सुवेदीले बताउनुभयो । बजार क्षेत्रभित्र कति मिटर सडक कायम हुने भन्ने आधिकारिक जानकारीसमेत आफूहरूलाई लोकमार्ग आयोजना पक्षले नदिएको स्थानीयको महेन्द्र गुरुङको भनाइ छ ।

पुष्पलाल (मध्य पहाडी लोकमार्ग) योजना कार्यालय पाँचथरले भने यसअघि नै सम्बन्धित क्षेत्रका प्रभावित बासिन्दा र जनप्रतिनिधिसँग पटक पटक छलफल गरेर काम अघि बढाएको जनाएको छ ।

योजना प्रमुख अर्जुनकुमार बमले बजार क्षेत्रको छोटो दूरीमा मात्र केही घरमा न्यून क्षति पुग्ने र त्यसका लागि योजना कार्यालयले क्षतिपूर्तिको व्यवस्था पनि गरेको बताउनुभयो । 

योजना प्रमुख बमका अनुसार बजार क्षेत्रमा ११ देखि १२ मिटरको चौडा सडक हुनेछ । यसअघि बजार क्षेत्रमा निर्माण भएको अधिकांश सडक ९ देखि १० मिटरसम्मको रहेको र थोरै मात्र सडक विस्तार गर्दा हालका लागि सडक पुग्ने योजना प्रमुख बमले बताउनुभयो। स्थानीयको मागअनुसार लोकमार्ग अन्यत्र स्थानबाट लैजान सम्भव नहुने र बीच बजारबाटै जाने बमको भनाइ छ ।

वसन्तपुर सरकारले पहाडबाट तराई र सुविधा सम्पन्न स्थानमा हुने बसाई सराई रोक्ने उद्देश्यले घोषणा गरेको नयाँ सहर समेत हो । वसन्तपुरमै नयाँ सहर आयोजना कार्यालय स्थापना भएर पूर्वाधार निर्माणको कामसमेत भइरहेको छ । लोकमार्ग योजना कार्यालयले बजार र सडक चौडा हुने स्थानको प्रारम्भिक वातावरणीय अध्ययनका लागि फिल्ड सर्भेको कामसमेत थालेको छ ।

योजना कार्यालयले त्यसका लागि छिन्नमस्ता मल्टी इन्जिनियरिङ सोलुसन प्रालिसँग सम्झौता गरेको छ । प्रालिले बिहीबारबाट काम पनि सुरु गरेको प्रतिनिधि चिरञ्जीवी काफ्लेले बताउनुभयो । 

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  १० : २२ बजे