डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ भएको भेटका क्रममा मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार सङ्घीय र प्रदेश सरकारको मन्त्रालय भागबन्डा, सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।

अहिले सात वटै प्रदेश सरकार बनिसकेको छ । अब सङ्घीय मन्त्रिपरिषद्लाई पूर्णता दिने र सँगसँगै प्रदेश सरकारलाई पनि पूर्णता दिन बाँकी छ । बुधवार मात्रै प्रधानमन्त्री दाहाल गोरखाबाट फर्किएपछि अध्यक्ष ओलीसँग भेट गरी मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल गर्नुभएको थियो । 

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट मङ्गलवार दुई तिहाइ बढी विश्वासको मत प्राप्त गर्नुभएको थियो । प्रतिनिधिसभामा भएको विश्वासको प्रस्तावको मतदानमा उहाँको पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको थियो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । विश्वासको मत पाएपछि  मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य सुरु भएको छ । 

यही पुस ११ गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शपथ लिनुभएको थियो । त्यस्तै राजेन्द्र राई, ज्वालाकुमारी साह र दामोदर भण्डारीले विना विभागीय मन्त्रीका रूपमा शपथ लिनुभएको थियो । 

बिहीबारको बालुवाटार वार्तामा विना विभागीय मन्त्रालयको टुङ्गो लगाउने र बाँकी १७ वटा मन्त्रालय बाँडफाँटमा सहमति जुटाउनेबारे छलफल भएको थियो । दुई नेताबीचको छलफलपछि सत्ता साझेदार दलको बैठक बस्नेछ । त्यो बैठकमा अन्य दलका मन्त्रीहरूको पनि टुङ्गो लगाउने तयारी छ । 

 

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ७ : ३२ बजे