राष्ट्रपति भवनमा घटस्थापना

अख्तियारका तत्कालीन आयुक्त पाठक र घुस दिने न्यौपानेलाई ३ वर्ष कैद सजाय

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठक र नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेले भ्रष्टाचार गरेको ठहरसहित विशेष अदालतले ३ वर्ष कैदको फैसला सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्य यमुना भट्टराई र बलभद्र बास्तोलाको संयुक्त इजलासले पाठक र न्यौपानेलाई ३ वर्ष कैद तथा ३९ लाख जरिवानाको फैसला गरेको हो । कलेजको मुद्दा मिलाउन भनेर अख्तियारका तत्कालीन आयुक्त पाठकले न्यौपानेसँग घुस लिएका थिए ।

नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताबारे सुरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारका आयुक्त राजनारायण पाठकले उजुरी छानबिनको साटो न्यौपानेसँग सम्पर्क अघि बढाए र अनियमितताको फाइल बन्द गरिदिने प्रलोभनमा ७८ लाख रुपैयाँ घूस लिएका थिए । घूस लिएर फाइल बन्द नगरेपछि विवाद बढ्दै जाँदा रकम लिएको भिडियो बाहिरियो र पाठकले पदबाट राजीनामा दिए ।

त्यसको केही महिनामा अख्तियारले पूर्वआयुक्त पाठक र घूस खुवाउने न्यौपानेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो  । विशेष अदालतमा विचाराधीन भ्रष्टाचार मुद्दामा न्यौपाने र पाठक दुवै ७८/७८ लाख रुपैयाँ धरौटी तिरेर थुनामुक्त भएका थिए ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ९ : १८ बजे