डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

लुम्बिनी विकास कोषका पदाधिकारीद्वारा रामग्राम र पण्डितपुरको अवलोकन

बुटवल । लुम्बिनी विकास कोषका पदाधिकारीसहितको टोलीले बुद्धको अस्तु धातु रहेको रामग्राम स्तुपा र बुद्ध स्थल पण्डितपुरको अवलोकन गरेको छ । 

कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी, कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य तथा परिषद् सदस्यसहितको टोलीले उक्त क्षेत्रको अवलोकन गरेको हो ।

गौतमबद्धको अस्तु धातु रहेको रामग्राम बुद्धमार्गीहरुका लागि पवित्र स्थल रहेकाले यहाँको विकास गर्ने गरी स्थलगत अवलोकन गरिएको उपाध्यक्ष त्रिपाठीले बताउनुभयो। उहाँले बुद्धको जीवनसँग जोडिएको महत्त्वपूर्ण स्थल रामग्राम भएकाले तत्कालीन र दीर्घकालीन रूपमा रामग्रामको विकास गरिने बताउनुभयो । उपाध्यक्ष त्रिपाठीले रामग्राममा तत्काल कोषको कार्यालय सञ्चालन गर्न, जग्गाको संरक्षणका लागि तारबार, पर्यटकका लागि खानेपानी, शौचालय र सूचना बोर्डहरू राख्न निर्देशन दिनुभयो ।

नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ७ झरही नदीको किनारमा रहेको रामग्रामलाई विश्वका बौद्धमार्गीहरुले पवित्र स्थलका रूपमा पुज्छन् ।  भगवान् बुद्धको अस्तु धातु राखी निर्माण गरिएको आठ वटा स्तुपामध्ये अहिलेसम्म बाँकी रहेको एक मात्र रामग्राम स्तुपा हो । बौद्ध ग्रन्थमा  सम्राट् अशोकले अन्यत्रबाट झैँ रामग्राममा पनि अस्तु झिकी चौरासी हजार स्तूप बनाउन चाहेको तर, त्यसो नगरेको उल्लेख छ ।

यसैगरी लुम्बिनी विकास कोषको टोलीले रामग्राम नगरपालिका १८ स्थित बौद्ध क्षेत्र पण्डितपुरको पनि अवलोकन गरेको छ । पुरातत्त्व विभागले बौद्धकालीन अवशेषहरू पत्ता लगाएपछि यो क्षेत्रलाई पुरातात्त्विक स्थलको रूपमा संरक्षण गर्दै आएको छ ।

कोलिय गणराज्यको राजधानी तथा बुद्धको मावली स्थलका रूपमा पण्डितपुर हुनसक्ने भएकाले यसको पुरातात्त्विक महत्त्व उजागर गर्नका लागि लुम्बिनी विकास कोषले यो क्षेत्रको अवलोकन गरेको कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले जानकारी दिनुभयो । 

उहाँले पुरातत्त्व विभागले उत्खनन गर्दा बुद्धकालीन अवशेषहरू प्रशस्त देखिएकाले यसलाई बुद्ध स्थलका रूपमा लुम्बिनी विकास कोषले संरक्षण र विकास गर्ने बताउनुभयो। हाल पण्डितपुर क्षेत्र अतिक्रमित हुँदै गएकाले यसको संरक्षणमा कोषले चासो देखाएको हो ।

रामग्राममा तत्काल केही निर्माणहरू गर्नुपर्ने र कार्यालय समेत सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएकाले त्यसको तयारीमा लाग्ने कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो । रामग्राम स्तुपाको गुरुयोजना समेत बनेको र तत्काल केही आवश्यक पूर्वाधार निर्माण थाल्ने गरी निर्देशन आएको योजना प्रमुख सरोज भट्टराईले बताउनुभयो । 

अवलोकनमा कोषका बोर्ड सदस्य विश्व पौडेल, परिषद् सदस्य सरोज भट्टराई, अर्का परिषद् सदस्य धनराज कँडेल लगायतको सहभागिता रहेको थियो ।

टोलीले सुनवल–७ तरगौली स्थित देवदह मध्यमार्गी बौद्ध गुम्बा एवं विहारको समेत अवलोकन गरेको छ । उक्त अवसरमा सुनवल नगरपालिकाका उपप्रमुख सूर्यप्रसाद दुवे, सुनवल वडा नं. ७ का वडा अध्यक्ष नारायण प्रसाद आचार्यले लुम्बिनीसँग जोडेर क्षेत्रको विकास गर्न आग्रह गर्नुभएको थियो।

 

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ९ : ४० बजे