इटहरीमा हुने महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी तीव्र

इटहरी । इटहरीमा २९ पुसबाट हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजना र सुनसरी जिल्ला क्रिकेट सङ्घको सह आयोजनामा पुस २९ देखि माघ ४ गतेसम्म इटहरीस्थित जनता क्रिकेट पार्कको मैदानमा प्रतियोगिता हुँदै छ । 

आयोजकले सुनसरी र क्रिकेटको महत्त्वलाई झल्कने गरी निर्माण गरिएको प्रतियोगिताको लोगो पनि सार्वजनिक गरेको छ ।

नेपालमा महिला क्रिकेट प्रतियोगिताहरू कम भइरहेको अवस्थामा यो प्रतियोगिताले नयाँ तथा पुराना खेलाडीलाई क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने प्रतियोगिता संयोजक बिप्लभ घोषले बताउनुभयो ।

प्रतियोगितामा साबिक विजेता विभागीय टोली एपीएफ क्लबसहित सात प्रदेश टोलीले सहभागिता जनाउने सुनसरी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सिपी पौडेलले बताउनुभयो। अहिले मैदान र पिच निर्माणको काम अन्तिम चरणमा पुगेको र सबै ८ वटा टिमको सहभागिता बारे टुङ्गो लागिसकेको उहाँले बताउनुभयो ।

विजेताले ५ लाख तथा उपविजेताले ३ लाख प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट ब्याटर र बलरले २०, २० हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचले तीन हजार प्राप्त गर्नेछन् । 

प्रतियोगिता आयोजनाका लागि करिब ८८ लाख ७८ हजार खर्च हुने अनुमान गरिएको छ । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहमा शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ७ : ३९ बजे