अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न तत्काल नतिजामुखी काम गर्नु जरुरी  : प्रधानमन्त्री 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न नतिजामुखी काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

ग्लोबल आइएमई बैङ्क तथा बैङ्क अफ काठमाडौँबीच एक आपसमा गाभ्ने (मर्जर) सम्पन्न भई एकीकृत कारोबारको शुभारम्भको अवसरमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र लगायत विभिन्न क्षेत्रमा नतिजामुखी काम तत्काल गर्न जरुरी रहेको बताउनुभयो । 

उहाँले पहिलो मन्त्रिपरिषद्को बैठकबाटै अर्थतन्त्रलाई गतिशील बनाउन वित्तीय, औद्योगिक र मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्रसँगको सहकार्य र सहयोगलाई वस्तुपरक रूपमा घनिभूत गराउने निर्णय समेत भएको बताउनुभयो ।

दुई ठुला बैङ्क एक आपसमा गाभिएर एकीकृत कारोबार शुभारम्भ हुनु राष्ट्रको लागि महत्त्वपूर्ण कदम रहेको बताउँदै प्रधानमन्त्रीले यसबाट, हाम्रो देशले अझ बलियो, थप विविध र थप गतिशील बैङ्किङ क्षेत्र प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले अहिले मर्जर लगायतका क्रियाकलाप पश्चात् ठुला परियोजनामा श्रोत जुटाउन सहज हुने, अझ बढी दक्षता वृद्धि हुने र वित्तीय क्षेत्रमा कहिलेकाहीँ देखिने अस्वस्थ प्रतिस्पर्धा पनि हट्ने भन्नुहुँदै यो क्रममा नागरिक र सेवाग्राहीको पहुँचमा भने ह्रास नआओस् भन्ने कुराको हेक्का राख्न जरुरी रहेको बताउनुभयो । 

उहाँले बैङ्किङ क्षेत्रको विस्तार र सुदृढीकरणले दिएको अवसरको सही उपयोग गर्न सकियो भने ऋण तथा लगानीका श्रोतमा पहुँच बढेसँगै अर्थतन्त्रलाई गति मिल्ने र आम नागरिक तथा व्यवसायहरूको उत्थानशीलता बढ्ने उहाँले बताउनुभयो । 

विप्रेषणको कारोबारलाई भरपर्दो र सुरक्षित गर्न समेत बैङ्क क्षेत्रको ठुलो भूमिका रहेकोमा जोड दिँदै प्रधानमन्त्रीले ठुला परियोजनामा मात्र नभएर नवीनतम बैङ्किङ तथा वित्तीय प्रोडक्ट प्रयोग गरेर आम जनताको वित्तीय क्षेत्रमा पहुँच, वित्तीय साक्षरता र स्वरोजगारका क्षेत्रमा समेत बैङ्किङ क्षेत्रले योगदान गर्नु जरुरी रहेको बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले वित्तीय, मौद्रिक, पुँजी बजार, सहकारी, बीमा र निजी कम्पनीका निकायहरूवीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न आवश्यक नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 

नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले सरकार निजी क्षेत्रको मनोबल उठाउन गम्भीर रहेको बताउनुभयो । 

पछिल्लो समयमा अर्थतन्त्रमा देखिएको समस्याले निजी क्षेत्रमा अन्यौलता छाएको र कतिपय समस्या देखिएको उल्लेख गर्दै उहाँले निजी क्षेत्रका मनोबल उठाउन सरकारले थप प्रभावकारी कदम चाल्ने बताउनुभयो । 

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय संस्था धेरै हुँदा वित्तीय खर्च धेरै बढेको र अस्वस्थ्य प्रतिस्पर्धा समेत बढेकोले मर्जरमा जोड दिएको बताउनुभयो । उहाँले बैङ्किङ क्षेत्रमा उल्लेख सुधार हुनुका साथै वित्तीय मध्यस्थताको लागत समेत घटेको बताउनुभयो । 

कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले पुँजीगत खर्च बढ्नुपर्ने, मौद्रिक नीतिमा पुनरावलोकन हुनुपर्ने र लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिँदै प्रचण्ड नेतृत्वको सरकारको पहिलो निर्णयबाट निजी क्षेत्र उत्साहित बनेको बताउनुभएको थियो ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ११ : ३६ बजे