शैक्षिक क्रान्तिमा भाषाहरूको भूमिका र यसको प्रयोगका बारेमा हामी स्पष्ट नहुँदा एकातिर शिक्षाको स्तर गुणात्मक बनाउन सकिएको छैन भने अर्कातिर हाम्रो मौलिक पहिचानहरू; भाषा, संस्कृति, जीवन दर्शन र देश बिस्तारै कमजोर हुँदै जान थालेको छ ।
नागरिकहरूमा पनि राष्ट्रिय भावना हिजोभन्दा आज कमजोर हुन थालेको छ । जसले गर्दा देशमा भाषिक, सांस्कृतिक, धार्मिक अतिक्रमण अनि जनसाङ्ख्यिक हस्तक्षेप पनि बढिरहेको छ । हामी नेपालीहरूको भविष्य सुन्दर बनाउने भ्रममा मौलिक पहिचानहरू छोड्दै विदेश पलायन हुनुलाई सफलता ठान्न थालेका छौँ । समाजमा पनि अराजकता बढेको र राजनीतिमा वैचारिक पक्ष कमजोर हुँदै छ अनि अराजकता र अवसरवाद बढ्न थालेको छ । मूल कुरो शिक्षाको चरित्र असल नहुँदा देशको चित्र धमिलो देखिन थालेको छ । त्यसैले देशको चित्र राम्रो बनाउन सबभन्दा पहिला शिक्षाको चरित्र नै बदल्नु पर्ने भएको छ ।
ईश्वरी प्रसाद पोखेरल लेख्छन्, “शिक्षा क्षेत्र चरम व्यापारमा रूपान्तरित हुँदा देश असफलताको भुमरीमा पर्दैछ ।” यो रूप पक्षलाई हेरेर निकालिएको निष्कर्ष हो, सार पक्ष भने अर्कै छ । नेपालको शिक्षामा जति–जति पाश्चात्य दर्शन र अभ्यास अनि भाषाको प्रयोग बढ्न थाल्यो त्यति–त्यति नेपालको शिक्षा प्रणाली असफल भएर देश पनि असफल हुँदै आयो । अन्ततः शिक्षामा व्यापारीकरण हुँदै माफियाकरण व्यापक भएको छ । जसले गर्दा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने वस्तुगत परिस्थिति बन्नै सकेको छैन ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सार्वजनिक वा सामुदायिक विद्यालय वा शिक्षालयहरूले सबैका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न सक्नै पर्छ । हामीले बुझ्नुपर्छ, समृद्ध नेपाल, निर्माणको पहिलो र बलियो आधार शिक्षा नै हो । त्यसैले शैक्षिक गुणस्तर राम्रो बनाउन शैक्षिक क्रान्तिको खाँचो छ । शैक्षिक क्रान्तिलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन यसमा पर्याप्त लगानी पनि सुनिश्चित गर्नुपर्छ । अब पनि यथास्थिति मै अघि बढ्ने हो भने हामी सामाजिक, राजनीतिक, कूटनीतिक रूपमा मात्र होइन आर्थिक रूपमा पनि झन् कमजोर भएर देशमा परनिर्भरता झन् बढ्नेछ ।
शिक्षाले त मुर्छितहरूलाई जागृत बनाउन सक्नुपर्छ । यो नै शिक्षाको धर्म हो । आज देशले यो शैक्षिक धर्म लागु गर्ने वैचारिक र व्यवहारिक राजनीति खोजेको छ । जसले हाम्रा मुर्छित सपनालाई जागृत बनाउने छ । त्यसैले शिक्षा प्रणालीमा आमूल परिवर्तनसँगै यसका नीतिहरूमा पुनर्व्याख्या अनिवार्य भएको छ अनि मात्रै शिक्षामा हाम्रो लगानीले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन सकारात्मक भूमिका निर्वाह गर्न सक्नेछ । यसर्थ शिक्षा मानव–केन्द्रित हुनु आवश्यक छ । सिकाइमा धेरै आयामहरू जोडिएको हुन्छ । जसले भोलिको जीवन, काम र संसारको सफलताको लागि महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।
आज हाम्रा युवाहरूले विवादित इतिहास पढेर र निराशाजनक अनि नसुन्ने वर्तमान देखेर आफ्नो भविष्य पनि अन्धकार देखिरहेका छन् । यस्तै बुझाई र मनोविज्ञानका साथ नयाँ पुस्ता सुनौलो भविष्यको खोजीमा राहदानी बोकेर विदेशको जोखिमपूर्ण यात्रामा निस्किएका छन् । तर उनीहरूलाई थाहा छैन, यो यात्राले भविष्य उज्ज्वल हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । फेरि देशभित्रै केही गरौँ भनेर लागेकाहरू पनि कतिखेर समस्यामा पर्छन् पत्तो हुँदैन । त्यसैले यी सबै खाले अनिश्चितताको अन्त्यका लागि एकातिर शिक्षा र सामाजिक व्यवस्थालाई पूर्वीय दर्शनको जगमा आमूल परिवर्तन गर्नुपर्नेछ भने अर्कातिर राज्यका नीतिहरू पूर्ण रूपमा देशमुखी बनाउनुपर्नेछ ।
पश्चिमाहरूले घोषित रूपमै हाम्रा भाषा, संस्कृति र धर्म अनि पूर्वीय दर्शनलाई कमजोर बनाउने गरी नेपालको शिक्षा व्यवस्थामा लगानी गरिरहेका छन् । किनभने उनीहरूले आफ्नो आर्थिक सामर्थ्यको जगमा आफ्ना भाषा, संस्कृति र धर्म अनि दर्शनलाई प्रयोग गरेर प्रभाव बढाइरहेका छन् । यी सबै पक्ष हाम्रा राजनीतिज्ञ तथा प्राज्ञिकहरूलाई थाहा नभएको विषय होइन । तर पनि उनीहरू मौन छन् र यथास्थितिमा रमाइरहेका छन् । मतलब बाह्य पक्षको प्रभाव र दबाबमा परेर राष्ट्रिय स्वार्थ कमजोर बनाउन सहयोगी भइरहेका छन् । किन ? हामीले कारणहरू खोज्नु पर्ने भएको छ ।
नेपालको शिक्षा व्यवस्था पूर्वीय दर्शनको जगमा विकास गर्दै पाश्चात्य दर्शनलाई सन्तुलित रूपमा प्रयोग गर्ने वातावरण बनाउनु बाहेक अन्य विकल्प छैन । वैश्विक नागरिक बन्नका लागि विद्यार्थीहरूले यो विश्वमा भएका सबै खाले जीवन दर्शनका बारेमा जानकारी राख्नै पर्छ र जान्नै पर्छ । आजको विश्वमा विज्ञान, सूचना तथा प्रविधिको विकासबाट लाभान्वित हुनका लागि पनि अङ्ग्रेजी भाषामा दक्खल चाहिन्छ नै। तर यसो भनेर हामीले हाम्रा भाषाहरू छोड्नुपर्छ भन्ने होइन । हामीले बुझ्नुपर्छ, हाम्रा मौलिक भाषा, संस्कृति, धर्म, ज्ञान, सीप, कला र विज्ञानको जगमा नयाँ भाषा भाषा, संस्कृति, धर्म, ज्ञान, सीप, कला र विज्ञान सिक्नुपर्छ । जसले सिकाइ र बुझाइ परिपक्व र दिगो बनाउन मद्दत गर्छ अनि पहिचान पनि जोगाउँछ ।
त्यसैले शिक्षामा आमूल परिवर्तनसँगै भाषा, संस्कृति, धर्म, ज्ञान, सीप, कला र विज्ञानको सन्तुलित तरिकाबाट प्रयोग गर्नका लागि हामीले राष्ट्रिय भाषिक नीति पनि बनाउनु पर्नेछ । मुख्य कुरो हामीले हाम्रा भाषा, संस्कृति, धर्म, ज्ञान, सीप, कला र विज्ञानलाई बलियो बनाउने गरी शिक्षा व्यवस्थाको विकास गर्दै विद्यार्थीहरूलाई थप नयाँ भाषा, संस्कृति, धर्म, ज्ञान, सीप, कला र विज्ञानका बारेमा साक्षर बनाउनु पर्नेछ। यसका लागि त्यहीअनुसार शिक्षालयहरूको क्षमता विकास गर्नु पनि पर्छ । हामीले बुझ्नुपर्छ, आफ्नोपनलाई बिस्तारै त्याग्न सिकाउने शिक्षा तथा सामाजिक व्यवस्थाको जगमा देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन सकिदैन्। अहिले हामीले लागु गरिरहेको शिक्षा व्यवस्थाले देशका लागि होइन परदेशका लागि जनशक्ति तयार गर्ने दर्शन र नीतिहरूबाट निर्देशित भइरहेको छ ।
अहिलेसम्म सार्वजनिक शिक्षालयहरूको उत्पादन म्यान पावर कम्पनीमार्फत विदेश निर्यात गरिन्छ भने संस्थागत शिक्षालयका उत्पादन एजुकेशन कन्सल्ट्यान्सीमार्फत निर्यात गरिन्छ । यी दुवै उत्पादन कुन कुन देशमा निर्यात गरिन्छ । यो तितो यथार्थ हामीलाई थाहा नभएको होइन । यसरी नागरिक निर्यात गर्ने दृष्टिकोणबाट जति समय यो शिक्षा व्यवस्था कायम रहन्छ तबसम्म समृद्ध नेपाल, सुखी नेपाली बनाउने राष्ट्रिय सङ्कल्प पूरा गर्न सकिदैन् । नागरिक निर्यात गरेर वस्तु आयात गर्न सिकाउने शिक्षा व्यवस्थाको निरन्तरताले हामीलाई हिजोभन्दा आज कमजोर बनाउँदै छ र आजभन्दा भोलि झन् कमजोर बनाउने छ । यो सत्यलाई स्विकारेर हामीले शिक्षा व्यवस्थामा आमूल परिवर्तन गर्न दबाब बढाउनुपर्ने भएको छ । शिक्षामा बाह्य पक्षको दान अनुदान हाम्रो राष्ट्रिय स्वार्थ बलियो बनाउनका लागि होइन, कमजोर बनाउनमा केन्द्रित छ । तर पनि हामीले यो यथार्थलाई अझै स्वीकार गर्न सकेका छैनौँ ।
शिक्षामा क्रान्ति र भाषाहरूको सन्तुलित प्रयोग गर्नु भनेको हरेक व्यक्तिको स्वतन्त्रता, समानताको सिद्धान्तबाट निर्देशित समाज अनि विश्वास र सहअस्तित्वका आधारमा भ्रातृत्वपूर्ण सम्बन्धको विकासको जगमा ’समृद्ध देश, सुखी नेपाली’ बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु हो । तर यदि अन्यथा भइरहे समाजमा निराशा बढेर अराजकताले झन् प्रश्रय पाउने छ । त्यही अराजकताका कारणले आज देशमा राजनीतिक अस्थिरता बढाउने शक्तिहरू भूमिका बढेको छ । क्रान्तिपुरको सम्पादकीयको शीर्षक छ, “विश्वविद्यालयहरूमा चाहिएको आमूल परिवर्तन” यो सम्पादकीयले आज शिक्षाको अंशमा परिवर्तनको कुरा गरेर ’नागरिक निर्यात गरेर वस्तु आयात गर्न सिकाउने अनि आफ्नो मौलिक पहिचान गुमाउन हौस्याउने’ शिक्षा व्यवस्था कायम गर्न खोजिएको स्पष्ट पारेको छ । त्यसैले कान्तिपुर पत्रिकाले यो सम्पादकीयमार्फत हामीलाई भ्रमित बनाउँदै छ, होसियार हौँ ।
अब प्रश्न उठ्छ, शैक्षिक क्रान्तिमार्फत भाषाहरूको सन्तुलित प्रयोग कसरी गर्ने? कुन तहमा कुन भाषालाई प्रमुख माध्यम भाषा बनाउने? स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय भाषाहरूको सन्तुलित प्रयोग गर्ने वातावरण कसरी बनाउने? यी सबै प्रश्नहरूको उत्तर भाषिक नीति र पाठ्यक्रमहरूमार्फत दिनुपर्छ । खास गरी शिक्षामा मातृभाषाहरूको प्रयोगले एकातिर शैक्षिक उपलब्धि विशिष्ट बनाउन सहयोग पुर्याउँछ भने अर्कातिर हाम्रा मौलिक पहिचानहरू नयाँ पुस्तामा पुस्तान्तरण गर्ने असल माध्यम हुनेछ ।
शिक्षामा कम्तीमा ५ तह हुन्छन्,
पूर्व प्राथमिक तह(बढीमा ३ र कम्तीमा २ वर्षे),
आधारभूत तह(५ वर्षे),
निम्न माध्यमिक तह(३ वर्षे),
माध्यमिक तह (४ वर्षे),र
विश्वविद्यालय तह (कम्तीमा ६ वर्षे) ।
यी सबै तहका कक्षाहरूको नयाँ पाठ्यक्रम बनाउनुका लागि शैक्षिक क्रान्ति र मातृभाषामा शिक्षा किन? भन्ने प्रश्नको उत्तर खोज्ने गरी व्यापक बहस चलाउनुपर्ने भएको छ ।
प्रकाशित मिति : २५ पुस २०७९, सोमबार ११ : १८ बजे
प्रतिक्रिया