डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुने

सुर्खेत । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले कर्णालीमा नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । 

शीर्ष नेताहरूको निर्णयसँगै कर्णालीको मुख्यमन्त्री राजकुमार शर्मा बन्ने निश्चित भएको छ । रुकुम पश्चिम (ख) बाट निर्वाचित शर्मा अब कर्णालीको तेस्रो मुख्यमन्त्री बन्नुहुने छ । 

पुस १३ गते बसेको माओवादीको प्रदेश कमिटीको बैठकले शर्मालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको थियो । १३ सिटसहित दोस्रो स्थानमा रहेको माओवादीले दोस्रो पटक पनि सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको छ ।

उता मुख्यमन्त्री माओवादीले पाएपछि एमालेले सभामुख पाउने भएको छ । तर, एमालेबाट सभामुखमा कसलाई पठाउँछ भन्ने टुङ्गो अझैँ हुन सकेको छैन । एमालेको १० सिट कर्णाली प्रदेशसभामा रहेको छ । सरकार बनाउनका लागि २१ सिट भए पुग्छ । माओवादी र काँग्रेस मिलाएर २३ सिट  छ ।

प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा २७ गते बेलुकी ५ः०० बजे सम्मको समय सीमाभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आव्हान गर्नुभएको छ । 

सभामुख र उपसभामुख चयनको मिति तोकिने कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो बैठक आज (आज) दिउँसो १ः०० बजे बस्दै छ । 

ज्येष्ठ सदस्य विनोद शाहको अध्यक्षतामा १८ गते बसेको पहिलो बैठकले आजलाई बैठक आह्वान गरेको थियो । बैठकले सभामुख र उपसभामुख चयनको मिति तोक्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  १० : ०३ बजे