सुनको मूल्यमा नयाँ कीर्तिमान

काभ्रेको सर्वोद्वार माविका विद्यार्थीलाई लुगा, जुत्ता लगायतका सामग्री वितरण

काभ्रे । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका चुखास्थित सर्वोद्वार माविका विद्यार्थीलाई आधारभूत सामग्री वितरण गरिएको छ । 

सि-नेपालको आइतबार आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेस काभ्रेका सभापति एवम् बागमती प्रदेशसभा सदस्य तीर्थ लामाले उक्त विद्यालयका छात्र छात्राहरूलाई लुगा, जुत्ता लगायतका सामग्री वितरण गर्नुभयो । 

कार्यक्रममा प्रदेशसभा सदस्य लामाले जाडो, गर्मी, हिमपात, वर्षा जस्ता मौसमी प्रतिकूलतामा आधारभूत सामग्रीहरूको व्यवस्थापनले ‘स्कुल ड्रप आउट’को सङ्ख्या घटाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले गरिबी अन्त्य गर्न र समाजमा समानता कायम गर्न बालबालिकाको शैक्षिक सुधारमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो ।

सि नेपालका संस्थापक अध्यक्ष स्मिता लामा मोक्तानका अनुसार  तेमाल गाउँपालिका वडा नम्बर २ स्थित ४ वटा विद्यालयका करिब ३५० बालबालिकाहरूलाई जाडोमा लगाउने न्यानो कपडा, जुत्ता र स्टेशनरी समानहरू वितरण गरिएको छ । 

अध्यक्ष लामाले बालबालिकाको शैक्षिक विकासका लागि किताब कापी बाहेक आधारभूत सामाग्रीहरू अत्यावश्यक रहने हुँदा संस्थाले उक्त सामग्री वितरण गरेको बताउनुभयो ।  

बालबालिकाको शैक्षिक पहुँच सुनिश्चित गर्दै समुदायमा बाल स्वास्थ्य, शिक्षा र बाल अधिकारको सुरक्षाको लागि कार्यरत सि–नेपालले काभ्रेलगायत विपन्न समुदायमा प्राकृतिक प्रकोप, विपद् र कोभिड–१९ जस्ता महामारीमा समेत सहयोग, राहत र पुरस्थापनाको काम गर्दै आएको छ । 

कार्यक्रममा संस्थाले काठमाडौँको बुढानीलकण्ठमा केही अनाथ बालबालिकालाई निःशुल्क पठन पाठनको व्यवस्था गर्दै आएको संस्थापक अध्यक्ष  लामाले जानकारी गराउनुभयो । 

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ८ : २७ बजे