डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

सङ्घीय संसद्को अधिवेशन आजदेखि सुरु हुँदै, यस्तो छ कार्यसूची

​​​​​​​​​​​​​​काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आजदेखि सुरु हुँदै छ । 

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ः०० बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन हुनेछन् ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो अधिवेशन र राष्ट्रियसभाको नियमित १३औँ अधिवेशन हुनु लागेको हो । 

दुवै सदनका बेग्लाबेग्लै बैठकमा साझा कार्यसूचीका रूपमा सङ्घीय संसद्को अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ । 

यस्तै , प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र समेत वाचन गरेर सुनाइनेछ ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका सह प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । 

प्रतिनिधिसभाको आजको बैठकमा सभामा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका नेताले शुभकामना मन्तव्य राख्नुहुनेछ । 

बैठकको प्रारम्भमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सदस्यहरूलाई स्वागत गर्नुहुनेछ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभामा १२ राजनीतिक दल र पाँच स्वतन्त्र सांसदका प्रतिनिधित्व रहेको छ । 

प्रतिनिधिसभामा नेपाली काँग्रेस ८९, नेकपा (एमाले)का ७८, नेकपा (माओवादी केन्द्र) ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालका १२, नेकपा (एकीकृत समाजवादी)का १०, जनमत पार्टीका छ, लोकतान्त्रिक समाजवादी पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक÷एक तथा स्वतन्त्र पाँच सांसद छन् । 

प्रतिनिधिसभा बैठक हाल कायम प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार सञ्चालन हुनेछ । बैठकले नियमावली, २०७५ लाई अनुमोदन समेत गर्नेछ ।

आजको बैठकबाट ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि नियमावलीअनुसार सात जनालाई चयन गरिनेछ । सांसद सदस्य सङ्ख्याका आधारमा काङ्ग्रेस र एमालेबाट दुई÷दुई र बाँकी अन्य दलबाट प्रतिनिधित्व हुनेछ ।

आजको बैठकमा ज्येष्ठ सदस्य जबराले यही पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रस्तावबारे जानकारी गराउनुहुनेछ । 

माओवादी केन्द्रका अध्यक्ष दाहाल यही पुस १० गते एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । 

नेपालको संविधानको धारा ७६ को उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । 

नेपालको संविधानअनुसार निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको ३० प्रतिनिधिसभाको बैठक बस्ने प्रावधान छ ।

यसैगरी पहिलो प्रारम्भ भएको दिनदेखि १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्नेछ । 

सभामुखको निर्वाचन सम्पन्न नभइसकेका कारणले हाल प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बैठक सञ्चालन गर्नुहुनेछ ।

उहाँले यसअघि यही पुस ७ गते नवनिर्वाचित प्रतिनिधिसभाका सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । 

 

 

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ७ : ३१ बजे