राष्ट्रपति भवनमा घटस्थापना

नाष्टको मनपरीले ५ करोडको उपकरण बन्यो प्रयोग विहीन, सेवा अवरुद्ध हुँदा भारत जान बाध्य छन् अस्पतालहरू

​​​​​​​काठमाडौँ । विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानको लापरबाहीका कारण ५ करोड रुपैयाँ पर्ने उपकरण प्रयोग विहीन बनेको छ । 

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले नेपालका अस्पतालहरूमा काम गर्ने रेडियोलोजिष्ट, टेक्निसियन, विकिरण कर्मचारीहरूको स्वास्थ्यमा असर नपरोस् भनेर विकिरण परिक्षण गर्ने  पाँच करोड रुपैयाँ बराबरको थर्मोल्युमिनेन्स डोसिमिटर मेसिन नेपाललाई उपहार दिएको थियो । 

विगत १३ महिनादेखि बिग्रिएर थन्किएका उपकरणहरू केही हप्ता अघि त बने तर  अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । 

करोडौँ मूल्य पर्ने उपकरणहरू प्रयोग विहीन अवस्थामा रहँदा नास्टले लिनु पर्ने टिएलडी सेवा अझै सुरु हुन सकेको छैन ।   

दैनिक जसो नाष्टमा टिएलडी टेष्ट गराउनका लागि नेपालभरका अस्पतालहरूमा विकिरणमा बसेर काम गर्ने कर्मचारीहरु नाष्ट धाइरहेका छन् । उता नाष्टमा भने उक्त टेष्ट नै नगरी उसै फर्काइदिने गरेको सेवाग्राहीहरूको गुनासो छ । 

पारमाणविक वा रेडियोधर्मी पदार्थको सुरक्षित प्रयोग होस् भनेर (आईएईए)ले नेपालमै उक्त परीक्षण गर्न सकियोस् भनेर उक्त यन्त्रसहित १५ सय टेस्ट क्यासेटहरु नेपाललाई दिएको थियो । यस अघि यो टेष्ट गर्नका लागि भारत जानु पर्ने बाध्यता थियो 

नाष्टमा भएका उक्त उपकरण प्रयोग नहुँदा नेपालमा रहेका अस्पताल तथा औषधी उद्योगहरूमा विकिरणमा बसेर काम गर्ने हजारौँ कर्मचारीहरुको स्वास्थ्यमा गम्भीर खेलबाड भइरहेको विज्ञहरू बताउँछन् । 

यस विषयमा कुरा गर्दा  नास्टका शिनिएर टेक्निकल अफिसर तथा प्रवक्ता डा. रवीन्द्र प्रसाद ढकालले यो विषयलाई नास्टले व्यवस्थापन गर्ने तर सनसनी बनाउन नहुने बताउनुभयो । सुरुमा डा. ढकालले नियमितरुपमा यो टेष्ट भइरहेको र परीक्षण बन्द गर्ने कुनै नीतिगत निर्णय नभएको भन्दै पन्छिन खोज्नुभयो । उहाँले टिएलडी टेष्ट  रेगुलर प्रोसेसमै भइरहेको भनेर हामीलाई ढाँट्नुभयो । पछि हामीले नाष्टको रिसेप्सनमा फोन गरेर बुझ्दा त्यहाँ कुनै पनि टेष्ट नहुने जानकारी पायौँ । हामीलाई टिएलडी सेवा आवश्यक रहेको भनेर हामीले फोन गरेका थियौँ । जवाफमा अहिले सेवा सुचारु नभएको र यसका लागि माथि कुरा गर्नु पर्ने कुरा आयो । हामीले कहिलेबाट यो सेवा सुरु होला भनेर राखेको जिज्ञासामा राख्दा आफूहरूलाई थाहा नभएको जबाफ मिल्याे । त्यसपछि हामीले पुनः नाष्टका प्रवक्ता डा. ढकालसँग फलो गर्दा कुनै सेवा नदिइरहेको जानकारी गरायौँ । हामीले सबै बुझेको थाहा पाएपछि ढकालले यसरी झुक्काएर सूचना नलिएको भए हुन्थ्यो भन्दै प्रतिक्रिया दिनुभयो । उहाँले यो समाचार बाहिर प्रकाशन नगरिइदिए हुन्थ्यो, नास्टले सेवा सुचारु गर्ने  आशयको अनुरोध गर्नुभयो ।‘ यो विषय सनसनी बनाउनेभन्दा पनि  हामीले व्यवस्थापन गर्ने कुरा हो’ उहाँले भन्नुभयो । 

डा.ढकालले यो पटक भने आफूहरूसँग काम गर्ने मान्छे अभाव भएकाले सेवा बन्द भएको भनेर जोगिने प्रयास गर्नुभयो । यत्रो करोडौँको उपकरण अलपत्र पारेर भारतमा परीक्षण गर्नु पर्ने बाध्यता पारेर कतै कमिसनको खेल त छैन भन्ने प्रश्नमा ढकालले आफूहरूकै पहलमा यो मेसिन ल्याइएको  र यो मेशिन ल्याउनु अघि पनि अस्पतालहरूले विकिरणसम्बन्धी सेवा र त्यसको बचाउको लागि टीएलटीडी सेवा आफ्नै ढङ्गले लिइरहेको जवाफ दिनुभयो । उहाँले यस्तो सनसनी बनाउने खालको कसैले स्पोन्सर गरेको न्युज नछाप्न अनुरोध गर्नुभयो । हामीले  १० दिनदेखि परीक्षण रोकिएको हो की हैन भन्ने प्रश्नमा उहाँले परीक्षण  रोकिएको स्विकार्नु भयो ।  परीक्षण नलिँदा जनस्वास्थ्यमा असर गर्ला नि त भन्ने प्रश्नमा उहाँले हप्ता १० दिनको परीक्षण नलिँदैमा कसैको स्वास्थ्यमा केही असर नगर्ने टालटुले जवाफ दिनुभयो ।

स्मरणीय छ की यो सेवा विगत १३ महिना अघि देखि नै बन्द थियो । उपकरण बिग्रिएर बन्द भएको सेवा बल्ल बल्ल तीन महिना अघिदेखि सञ्चालनमा आएको भए पनि बिना कारण १० दिन अघिदेखि पुनः बन्द गरिएको हो । उपकरण बनिसकेर सेवा सुचारु  हुनु र  एकाएक फेरी बन्द गरिनु रहस्यमय भएको जानाकारहरु बताइछन् । 

कतै तपाइहरू यो सेवा नहोस् र फेरी यस्ता परीक्षणहरु भारतमै होस् भनेर बन्द गरिराख्नुभएको त होइन भन्ने प्रश्नमा प्रवक्ता ढकालले जे कुरामा पनि भारतलाई नजोड्न आग्रह गर्नुभयो । त्यसो हो भने यो सेवा नाष्टमा कहिलेदेखि खुल्छ भन्ने प्रश्नमा ढकालले अहिले नै आफूले भन्न नसक्ने तर व्यवस्थापनको निर्णय हुनासाथ खुल्ने जवाफ दिनुभयो । सेवा बन्द गर्दा चाहिँ निर्णय गर्नुभएको थियो भन्ने प्रश्नमा ढकालले त्यस्तो कुनै निर्णय भएर बन्द नगरिएको जानकारी दिनुभयो । 

नाष्टका कर्मचारहरु भने यो सेवा बन्द हुनुमा सङ्काय प्रमुख निशा राणाको हात रहेको बताउँछन् । राणाको एकल आदेशले सेवा बन्द भएको विषयमा हामीले प्रवक्ता ढकालसँग जवाफ माग्दा कुनै एक व्यक्तिको निर्देशनको भरमा सेवा बन्द हुन नसक्ने बताउनुहुन्छ ।

सेवा अवरुद्ध हुँदा जनस्वास्थ्यमा असर गर्ला नि भन्ने प्रश्नमा ढकालले  यो परीक्षण केबल अनुसन्धानको लागि मात्र भएकोले यस्ले जनस्वास्थ्यमा कुनै असर नगर्ने जवाफ दिनुभयो । यस विषयमा हामीले वरिष्ठ रेडियोलोजिष्टहरुसँग कुराकानी गर्दा सिटी स्क्यान तथा एक्स-रे जस्ता सेवा दिने ठाउँमा काम गर्ने कामदारहरूलाई विकिरणले असर कति गरेको छ भनेर तीन तीन महिनामा यो परीक्षण अनिवार्य गरिरहनु पर्दछ । परीक्षणका क्रममा यदि विकिरणको मात्रा २० मिलिसिर्भट  भन्दा बढी देखिएमा  उक्त कामदारलाई बिदा दिनु पर्ने विज्ञहरू बताउनुहुन्छ । लगातार विकिरण उत्सर्जन हुने क्षेत्रमा काम गर्दा गम्भीर खालका घातक रोग लाग्नसक्ने जोखिम हुने विज्ञहरू बताउँछन् । 

जनस्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पनि नाष्टको यो प्रकारको खेलाँचीले भने नाष्टका वैज्ञानिकदेखि देशैभरका चिकित्सकहरू रुष्ट छन् । नास्टले   थर्मोल्युमिनन्स डोजिमिटर रेडिएशन परीक्षण नगरेर आम जनस्वास्थ्यमा मनोमानी मात्र गरेको नभई विश्व स्वास्थ्य सङ्गठनमा समेत नेपालको बेइज्जती गरिरहेको उनीहरूको आरोप छ 

 

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ६ : २९ बजे