नेपाली कम्युनिष्ट आन्दोलनका सृजनशील सिद्धान्तकार जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको सामाजिक आर्थिक रूपान्तरणको सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) आज नेपाली समाजको एउटा प्रभावकारी दृष्टिकोणको रूपमा स्थापित भएको छ । यस सिद्धान्तले विश्वमा अहिलेसम्म प्रयोगमा आएका लोकतान्त्रिक दृष्टिकोणहरू, सभ्य समाजद्वारा विकसित मूल्य–मान्यता र मानव अधिकारका सामाजिक आर्थिक दुबै किसिमका अवधारणाहरूलाई आत्मसात गर्दै समृद्ध मुलुक निर्माण गर्न बाटो देखाएको छ ।
सन् १९१७ मा माक्र्सवादको पहिलो व्यावहारिक प्रयोग भएको सोभियत समाजवादी क्रान्तिको सफलतापछि उदय भएको विश्व समाजवादी प्रणालीलाई समेत थप प्रभावकारी तुल्याउन सफल बनेको माक्र्सवादको सिर्जनात्मक रूप जबज नेपालमा आमूल सामाजिक रूपान्तरण गर्नसक्ने वैज्ञानिक सिद्धान्तको रूपमा स्वीकार्य भएको छ । देश र जनताको उन्नति गरी मुलुकलाई थप प्रगतिको सिँढि उकाल्न सक्ने यस सिद्धान्तको प्रयोग गर्दै मुलुक अहिले समृद्धिको यात्रामा अग्रसर भइरहेको छ । जबजले मार्गदर्शन गरेको आर्थिक विकासको गतिलाई जतिसुकै रोक्न खोजेपनि त्यसो गर्न नसक्ने परिवेश निर्माण हुनु आमजनताको निम्ति खुशीको विषय हो ।
सामन्तवाद र साम्राज्यवादले लादेका वर्गीय शोषण–उत्पीडन तथा विकृति एवं विसंगतिलाई अन्त्य गर्ने दृष्टिकोण अवलम्बन गरेको सिद्धान्त जबजका थप १४ वटा मुख्य विशेषताहरू भनेका आधुनिक लोकतान्त्रिक विधि अन्तर्गत आन्दोलनका विविध तरीकाहरूको प्रयोग गर्दै समृद्ध देश निर्माण गर्न मार्गदर्शन गर्ने मान्यताहरू हुन् । सन् १९९० को दशकमा माक्र्सवाद प्रवद्र्धित समाजवाद निर्माणको अभियानले क्षति व्यहोर्न बाध्य हुनुपर्दाका असफलताका व्यथाहरू र ऐतिहासिक सफलताका अनुकरणीय गाथाहरू एवं नेपाली कम्युनिष्ट आन्दोलनका आरोह अवरोहको वस्तुनिष्ट समिक्षा गर्दै निकालिएका वस्तुनिष्ठ निष्कर्ष नै जबजका विशिष्ट किसिमका विशेषताहरू हुन् । ती विशेषताहरू—संविधानको सर्वाेच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलीय प्रतिष्पर्धात्मक प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको विपक्ष, कानूनको शासन, जनताको जनवादी व्यवस्थाको सुदृढीकरण, विदेशी पूँजी र प्रविधि, क्षतिपूर्ति, विदेश नीति, नेतृत्व र अधिनायकत्व तथा जनताको बहुदलीय जनवाद हुन् । यस आलेखमा जबजका थप मौलिक विशेषताहरू मध्ये ‘नेतृत्व र अधिनायकत्व’ को अवधारणाका बारेमा संक्षेपमा चर्चा गर्ने कोशिस गरिएको छ ।
जननेतामा माक्र्सवादको अजेयताप्रति अगाध आस्था थियो । मुलुकबाट सामन्तवाद–साम्राज्यवादलाई उन्मूलन गरेर जबज लागू गर्न तथा समाजवाद निर्माणको आधार तयार पार्न सर्वहारा श्रमजीवि जनताको अग्रदस्ता कम्युनिष्ट पार्टीको नेतृत्व नै कामयावी हुनेमा उहाँ विश्वस्त हुनुहुन्थ्यो । माक्र्सवादको सिर्जनात्मक प्रयोगको निर्णायक मार्गदर्शन र सर्वहारा श्रमजीवि वर्गको नेतृत्वमा क्रान्ति सफल हुनेमा उहाँ ढुक्क हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ–सामन्तवाद र साम्राज्यवादबाट सामाजिक मुक्ति र राष्ट्रिय स्वाधीनता प्राप्त गर्ने आन्दोलनको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हो । यस क्रान्तिको नेतृत्व पनि सर्वहारा श्रमजीवि वर्गले मात्र गर्नसक्छ । सर्वहारा श्रमजीवि वर्गको, माक्र्सवाद– लेनिनवादको मार्गदर्शनमा चल्ने राजनीतिक पार्टीले मात्र गर्न सक्छ । तर यस कुरालाई केबल सैद्धान्तिक रूपमा उल्लेख गरेर र दस्तावेजमा लेखेर मात्र हुँदैन । त्यसकारण हामीले कार्यक्रममा र पहलकदमीद्वारा नेतृत्व लिने विषयमा जोड दिएका छाँै ।
सामाजिक क्रान्तिको मार्गदर्शक सिद्धान्तबारे स्पष्ट भइसकेपछि त्यसको नेतृत्व गर्ने विषय महत्वपूर्ण हो भने कार्यनीतिक विषयको रुपमा रहेको क्रान्तिको बाटो शान्तिपूर्ण कि हिंसात्मक भन्ने पनि अर्को महत्वका साथ हेरिने पक्ष हो । परिवर्तनकारी शक्तिले संघर्षको बाटो शान्तिपूर्ण हो भन्ने टुङ्गो लगाइसकेपछि त्यसका निमित्त प्रयास र पहलकदमी गर्नै पर्दछ । विना नेतृत्व परिवर्तनको अभियान विशृङ्खल र अराजक हुनपुग्दछ । त्यहि भएर जननेताले “सैद्धान्तिक, वर्गीय र रणनीतिकरूपमा सर्वहारा नेतृत्वको अनिवार्यताबारे उल्लेख गर्दा कार्यनीतिकरूपमा अरुसँग नेतृत्वका निम्ति गम्भीर प्रतिष्पर्धा गर्नुपर्ने र पहलकदमी लिनुपर्ने आवश्यकताप्रति बेवास्ता गरेर ढुक्क हुने प्रवृत्ति देखिएको छ । हामी यो प्रवृत्तिलाई हटाउन र तीब्र प्रतिष्पर्धा र सशक्त पहलकदमीमा जोड दिन चाहन्छौँ” भन्नुभएको हो ।
आमूल सामाजिक परिवर्तनपछि विजयी बनेर राज्यसत्तामा पुगेको सर्वहारा श्रमजीवि वर्गको पार्टीले अब त जित भइसक्यो त्यसैले पराजित भएको वा फरक दृष्टिकोण अपनाएको राजनीतिक शक्ति वा समुहलाई निषेध गर्नुपर्छ भन्ने मान्यता कम्युनिष्ट आन्दोलनभित्र जबर्जस्त नै मौलाएको थियो । वास्तवमा यो भनेको जनवाद वा समाजवादमा संक्रमणको तयारीमा रहेको समाजमा भिन्न मत वा फरक धारणा नदेख्ने गलत प्रवृत्ति हो । यसबाट परिवर्तनकारी शक्तिलाई नै क्षति पुग्दछ । अन्ततः यो भनेको समाजमा हुने वैचारिक द्वन्द्वलाई बेवास्ता गर्ने दृष्टिकोण हो । तर जननेताले त्यसलाई तोडेर समाजमा प्रगतिशील शक्ति विजयी भएपछि पनि त्यहाँ बहुल विचार र आस्था हुनसक्ने भएकाले त्यस्तो शक्तिले दल खोल्न सक्छ र त्योसँग प्रतिष्पर्धा गरेर नै कम्युनिष्ट पार्टीले शासनसत्ता चलाउनु पर्छ भन्ने दृष्टिकोण अगाडि सार्नुभयो ।
जननेताले “क्रान्तिपछिको निर्माणकालमा पनि पार्टीले पहलकदमी र प्रतिष्पर्धाबाट नै नेतृत्व हातमा लिनु पर्छ । कम्युनिष्ट पार्टीको नेतृत्व अर्थात् माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा चल्ने सर्वहारा श्रमजीवि वर्गको राजनीतिक पार्टीको नेतृत्वमा मात्र जनताको जनवादी व्यवस्थाको सुदृढीकरण र समाजवादमा संक्रमण गर्ने काम सम्पन्न गर्न सकिन्छ । तर, यसमा पनि प्रतिष्पर्धा र पहल नलिएर संविधानमा उल्लेख गर्दै राज्यको बल प्रयोग गरेर नेतृत्व गर्ने तरिका उपयुक्त हुँदैन । त्यसकारण सर्वहारा श्रमजीवि वर्गको माक्र्सवादी– लेनिनवादी पार्टीको नेतृत्व अनिवार्य छ । तर, त्यो संघर्ष, सेवा, पहलकदमी र प्रतिष्पर्धाबाट मात्र हातमा लिन सकिन्छ । सैद्धान्तिक उल्लेख वा संवैधानिक उल्लेख तथा राजकीय बल प्रयोगबाट होइन भन्ने कुरामा हामीले जोड दिएका छौँ” भन्नुभएको हो ।
कम्युनिष्ट पार्टीले ‘अधिनायकत्व’ को अवधारणा वा विषय अंगीकार गरेकोमा बुर्जुवा वा पँुजीवादी तत्वले त्यसउपर प्रहार गर्दै आएको छ । कम्युनिष्ट पार्टी सत्तामा पुगेपछि ‘अधिनायकत्व’ लाद्छ वा ‘एकदलीय निरंकुशता’ थोपर्छ भन्ने प्रचार गरिँदै आएको छ । कम्युनिष्ट पार्टीले भने पनि नभने पनि मुलुकमा ‘अधिनायकत्व’ वा ‘राज्यसत्ता’ कुनै न कुनै रूपमा कायम भएकै हुन्छ । वुर्जुवा तत्वले अधिनायकत्व नभनि पनि वर्गीय राज्यसत्ता कायम गर्दै आमजनतामाथि शोषण, दमन र उत्पीडन लादिरहेकै हुन्छ । तर कम्युनिष्ट पार्टीको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न भएपछि बहुसंख्यक जनताको हितमा काम भइरहेकै हुन्छ । ‘जनताको जनवादी अधिनायकत्व’ भनेर असल काम नै कम्युनिष्ट पार्टीले गरिरहेको हुन्छ । अनि यहि शब्दावलीको आडमा बुर्जुवा वर्गले कम्युनिष्ट जनसत्ताको बद्नाम गर्दछ । जब यस्तो कुरा हो भने राज्यसत्तालाई दर्शाउन प्रयोग गरिएको ‘अधिनायकत्व’ भन्ने शब्दप्रति सर्वहारा श्रमजीवि शक्तिले आशक्ति देखाउनु पर्छ भन्ने केहि छैन । जबजले त्यसलाई जनवादी राज्यसत्ता भन्दा हुन्छ भन्ने मान्यता प्रस्तुत गरेको छ । यसै पक्षलाई मध्यनजर गर्दै जननेताले भन्नुभएको छ— जनताको जनवादी अधिनायकत्व भनेको जनताको जनवादी राज्यसत्ता हो । अधिनायकत्व राज्यसत्ताको एउटा मुख्य निर्णायक कामलाई अभिव्यक्त गर्ने शब्द हो । अर्थात् अधिनायकत्व भनेको राज्य हो । माक्र्सवादी दृष्टिकोणअनुसार राज्य भनेको वर्गीय हुन्छ, पूँजीवादपन्थीहरूको वर्गविहिन वा वर्गभन्दा माथि राज्य भन्ने कुरा झुट कुरा हो । राज्य एउटा वर्गले अर्को वर्गलाई नियन्त्रण गर्ने साधन हो । तर, जनताको राज्यको काम केबल नियन्त्रण र दमन गर्ने मात्र होइन, आम जनताको नेतृत्व गर्दै जनताको निम्ति कल्यायणकारी काम गर्नु हो । त्यसले जनवादविरोधी प्रतिगामी तत्वहरूलाई मात्र दमन र नियन्त्रण गर्छ । व्यापक जनतालाई जनवादी अधिकार प्रदान गर्छ । त्यसकारण हामीले अधिनायकत्व शब्दको सट्टा कार्यक्रममा आमरूपमा राज्यसत्ता भन्ने शब्द प्रयोग गरेका छौँ । यसको तात्पर्य पहिलो कुरा मुठ्ठीभर प्रतिगामीहरूमाथि अधिनायकत्व भएको ९५ प्रतिशत जनताको निम्ति जनवाद दिने राज्यसत्ता भएको र दोस्रो राज्यसत्ताको काम केबल अधिनायकत्व मात्र नभएर जनता र राष्ट्रको निम्ति कल्याणकारी काम नै प्रमुख भएको हुनाले पनि राज्यसत्ताको एउटा मात्र पक्षलाई अभिव्यक्त गर्ने ‘अधिनायकत्व’ शब्दभन्दा ‘जनताको जनवादी अधिनायकत्व’ भन्नुभन्दा जनताको जनवादी राज्यसत्ता भन्ने शब्द प्रयोग गरेका छौँ । यो सही र उपयुक्त संयोजन हो ।
सामाजिक आर्थिक रूपान्तरणको संघर्ष वा आमूल परिवर्तनको प्रक्रियालाई कस्तो शक्तिले कसरी नेतृत्व प्रदान गर्दछ भन्ने विषय महत्वपूर्ण हो । आन्दोलनले सफलता हासिल गर्नका निम्ति र त्यसपछिको परिवर्तित अवस्थाको स्थायित्वका लागि नेतृत्वको विषय एउटा ज्वलन्त पाटो हो । वर्तमान विश्व परिवेशमा त कस्तो नेतृत्व मात्र होइन, बरु कसरी नेतृत्व भन्ने विषय पनि जरुरी महत्वको विषय हो । आमरूपमा कम्युनिष्ट आन्दोलनमा परिवर्तनको अभियानलाई सार्थक निष्कर्षमा पुर्याउन सशस्त्र संघर्ष वा हिंसात्मक माध्यम अपनाउँदै आइएको थियो र अद्यापि त्यो प्रवृत्ति कतिपय मुलुकमा कायम नै छ । सोभियत नमूनाको समाजवादले गम्भीर क्षति व्यहोरेपछि विश्व कम्युनिष्ट आन्दोलनको ठूलो हिस्साले गम्भीर समीक्षा गरिकन आफूलाई सुधार गर्ने अवस्थामा पुर्यायो । पराजयको पीडाबोधले मात्र पनि क्रान्तिको माध्यम परिवर्तन गर्ने तहमा विभिन्न देशका कम्युनिष्ट पार्टीहरू पुगेका होइनन् । बरु माक्र्सवादी द्वन्द्ववादको बुझाइमा रहेको जडसूत्रवादी चिन्तनका कारणले सहि निष्कर्ष निकाल्न नसक्ने अवस्था उत्पन्न भएको हो ।
वर्गीय समाजमा वर्गहरूको बीचमा संघर्ष हुने भएकाले शोषक वर्ग र शोषित वर्गको अलग अलग राजनीतिक पार्टी हुने नै भयो । विगतमा वर्गीय द्वन्द्वको अन्त्यको लागि वा सर्वहारा श्रमजीवि जनताको सत्ता स्थापना गर्नका लागि हिंसात्मक अभियान नै एकमात्र विकल्प भनेर कम्युनिष्ट पार्टी लागेको अवस्था थियो । कम्युनिष्ट पार्टी भनेको जनताको सच्चा मित्र भएकाले जनहित र राष्ट्रहितमा समर्पित पार्टीले हिंसा अपनाएको कारणले जोरजबरजस्ती गरेर सत्ता हात पार्नुपर्छ भन्ने हुँदैन । किनकी कम्युनिष्ट पार्टीको लागि जनता नै सबैभन्दा असल मित्र भएकाले उनीहरूको भावना जितेर वर्गीय समस्या समाधान गर्न किन नसक्ने ? पूँजीवादीहरू वा वुर्जुवाहरू सत्ता हासिल गर्न र जोगाउन वा टिकाउन शान्तिपूर्ण बाटो अपनाउन राजी हुन्छन् भने बहुसंख्यक जनताको प्रतिनिधित्व गर्ने कम्युनिष्ट पार्टी प्रतिष्पर्धाबाट पछि हट्नु पर्ने वा भाग्नु पर्ने भन्ने हुन सक्दैन । त्यसैले जबजले शान्तिपूर्ण प्रतिष्पर्धा र पहलकदमीबाट नै आमूल सामाजिक परिवर्तन गर्न सकिन्छ र त्यस्तो परिवर्तन गरिसकेपछि पनि कम्युनिष्ट पार्टीले स्वस्थ प्रतिष्पर्धाबाट थप अग्रगतितर्फ लैजान सक्दछ भन्ने दृष्टिकोण अवलम्बन गरेको हो ।
प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार ११ : २७ बजे
प्रतिक्रिया