बर्दिबासमा लालपुर्जा वितरण प्रक्रियामा रोकियो, प्रमाणीकरण गर्न नापीको अस्वीकार

महोत्तरी । महोत्तरीकै सबैभन्दा बढी भूमिहीन र अव्यवस्थित बसोबासी रहेको बर्दिबासको लालपुर्जाको विषय विवादित बनेको छ ।  

स्थानीय सरकारले नाप जाँचलाई प्रमाणीकरण  गरेको  प्रतिवेदन नापी कार्यालयलाई बुझाउन नसक्दा नाप जाँच भएको नाप नक्सासमेत विवादित बनेको हो ।

नापी कार्यालयले यसअघि भएका नाप नक्सामा त्रुटि भएको जिकिर गर्दै  नगरपालिकाले नापी कार्यालयका कर्मचारी सङ्लन गराएर पुनः जाँच गर्नुपर्ने अडान राखेको छ ।

नापी कार्यालयका महोत्तरी प्रमुख राकेश यादवका अनुसार अघिल्लो स्थानीय सरकारले नाप नक्सा गरेको जग्गा अहिलेको सरकारले प्रतिवेदन बुझाउन सकेको छैन ।

प्रमुख यादवले अघिल्लो स्थानीय सरकार विदुर कार्कीको समयमा गरिएको नाप नक्सामा नापी कार्यालयको संलग्नता नरहेको भन्दै असन्तुष्टि जनाउनुभयो ।“अघिल्लो स्थानीय सरकारले नाप नक्सा गर्दा हामीलाई सहभागी नगराएको हुनाले आँखा चिम्लेर विश्वास गर्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो। नापी कार्यालयका कर्मचारी र  स्थानीय सरकारले पुनः चेकजाँच नगरी बनाइएको नाप नक्सालाई प्रमाणीकरण गर्न नसक्ने प्रमुख यादवले बताउनुभयो । 

निर्वाचनमा समेत लालपुर्जा वितरण प्रक्रियालाई मुख्य प्राथमिकतामा राखेका प्रह्लाद क्षेत्री निर्वाचित भएको नौ महिनासम्म पनि प्रक्रिया अगाडि नबढाउनु निक्कै दुःखद भएको स्थानीय रामजी बस्नेतले बताउनुभयो ।

अहिले नगर क्षेत्रमा ९१३ जना पूर्ण भूमिहीन सुकुम्वासी, ४८९ जना दलित भूमिहीन र आठ हजार १७४ जना अव्यवस्थित बसोबासी छन् । अझै पनि छुटेका फर्महरू आउने क्रम जारी रहेको बर्दिबासस्थित नापी कार्यालयले जनाएको छ ।

यसमध्ये वडा नम्बर ४ का ३१ पूर्ण भूमिहीन परिवारलाई वितरण गर्ने भनिएको लालपुर्जामा समेत त्रुटि देखिएको प्रमुख यादवले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  १२ : १७ बजे