डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

एमालेले जनसङ्गठन सुधारका लागि दुई दिने कार्यशाला गर्ने

काठमाडौँ ।  नेकपा एमालेका जनसङ्गठनलाई थप जिम्मेवारीसहित जनसङ्गठन सुदृढीकरण बनाउन आइतबार र सोमबार दुई दिन आवासीय कार्यशालाको आयोजना गरेको छ ।

पार्टीको स्थायी कमिटी सदस्य एवं जनसङ्गठन संयन्त्र विभागका प्रमुख भानुभक्त ढकालले २३ वटै जनसङ्गठनबाट पाँच जनाका दरले सहभागी गराएर बदलिँदो परिवेशमा कुन जनसङ्गठनले के कस्तो भूमिका निर्वाह गर्नुपर्ने भन्ने विषयमा जानकारी दिइने बताउनुभयो । 

“लोकतन्त्र स्थापना र राजनीतिक आन्दोलनमा हाम्रा जनसङ्गठनको भूमिका महत्त्वपूर्ण रह्यो तर अब परिस्थिति बदलिएको छ”, उहाँले भन्नुभयो, “अब हामीले बोक्नु पर्ने एजेण्डा के हुन् र निर्वाह गर्नुपर्ने विषयगत भूमिका के हो भन्ने विषयमा कार्यशालामा जानकारी गराइनेछ ।”

धुलिखेलमा हुने कार्यशालाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । 

यसअघि नै विभागले हरेक जनसङ्गठनलाई उनीहरूले निर्वाह गरेका भूमिकाका बारेमा पाँच वटा लिखित प्रश्न सोधेर पठाएको छ । ती प्रश्नको उत्तर बैठकबाट माइन्यूट गरेर ल्याउन भनिएको छ । हरेक जनसङ्गठनले आफूले उत्कृष्ट काम गरेका ती कामहरू कार्यशालामा प्रस्तुत गर्नेछन् । 

प्रमुख ढकालले सहभागीहरूले छलफलका क्रममा उठाएका विषय र जिज्ञासाहरूलाई महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने तयारी रहेको  जानकारी दिनुभयो ।

  

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ९ : ०९ बजे