सुनको मूल्यमा नयाँ कीर्तिमान

आगामी चैत ५ गते स्ववियु निर्वाचन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । 

शुक्रवार बसेको त्रिवि कार्यकारी परिषद्ले सो निर्णय गरेको त्रिविका रजिस्ट्रार प्राडा पेशल दाहालले जानकारी दिनुभयो । 

उहाँका अनुसार परिषद्ले नै स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गर्नेछ । समितिले स्ववियु कार्य तालिका प्रकाशन गर्नेछ । यही पुस २१ गते त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्नका लागि त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको थियो । उहाँले विद्यार्थी कल्याण परिषद्ले सिफारिस गरेअनुसार नै स्ववियु निर्वाचन गर्ने निर्णय गरेको बताउनुभयो ।

सबै विद्यार्थी सङ्गठनको सल्लाह र परीक्षा, भर्ना कार्य तालिकालाई असर नपर्ने गरी विद्यार्थी कल्याण परिषद्ले निर्वाचनको मिति तय गरेको हो । 

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेसँगै आफू अब स्ववियु निर्वाचनको तयारीमा लाग्ने बताउनुभयो । 

त्रिविले स्ववियु निर्वाचनका सम्बन्धमा त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौ वटै सङ्कायका डीन र परीक्षा नियन्त्रक तथा सबै विद्यार्थी सङ्गठनका अध्यक्ष छलफल गरेको थियो । त्रिविले स्ववियु निर्वाचन गर्न पटक पटक पहल गरे पनि हुन सकेको छैन । 

त्रिवि क्याम्पसमा विगत एक दशकदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । प्रत्येक दुई दुई वर्षमा हुने निर्वाचन २०६५ साल यता नियमित हुन नसकेको हो । 

विसं २०६५ साल चैत ६ गतेपछि एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो । त्यति बेला देशैभरि त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये रत्न राज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकामा नौ वटा आङ्गिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो । 

यस्तै उपत्यकाका १३ क्याम्पस र उपत्यका बाहिर २३ वटा आङ्गिक क्याम्पसमा निर्वाचन हुन नसकेको थिएन । त्रिबिमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । स्ववियु निर्वाचन २८ वर्ष उमेरहदवन्दी र मिश्रित निर्वाचन प्रणाली लागु गरिएको छ । 

 

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ७ : २० बजे