काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सुनुवाइ हुने भएको छ ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्द मोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउत सम्मिलित संवैधानिक इजलासमा उपप्रधानमन्त्री लामिछानेको नागरिकताको वैधानिकतामा प्रश्न उठाएर दायर गरिएको रिटमाथि सुनुवाइ हुन लागेको हो ।
यसअघि, पुस ६ गते लामिछानेविरुद्ध परेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । आज पेसी चढेसँगै रिटमाथि सुनुवाइ हुने भएको हो ।
अमेरिकाको नागरिकता लिएपछि नेपाली नागरिकता स्वतः खारेज भएको र अमेरिकाको नागरिकता त्यागेर नेपाली नागरिकता नलिई खारेज भएको पुरानै नागरिकताबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकाले लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको हो ।
अधिवक्ता युवराज पौडेल र अधिवक्ता रविराज बसौला समेतले राष्ट्रिय स्वतन्त्र पार्टी समेतलाई विपक्षी बनाएर रिट दायर गर्नुभएको हो । लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पनि हुनुहुन्छ ।
प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार ११ : २० बजे
प्रतिक्रिया