‘एउटै नाउरको सिकार गर्न २३ लाख’

के पी ओली : सबै वामका साझा नेता

​​​​​​​नेकपा एमाले)का अध्यक्ष के पी शर्मा ओलीको सफल राजनीतिक मुभका कारण देउवा नेतृत्वको दक्षिणपन्थी गठबन्धन भत्किएर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि वाम एकताको चर्चा चल्न थालेको छ । क्षणिक सत्ता स्वार्थको लागि नभएर वाम एकता समाजवादको गन्तव्यको लागि हुनुपर्ने र त्यसको लागि सही नीति, सिद्धान्त र नेतृत्व आवश्यक हुन्छ । 

वर्तमान सन्दर्भमा वाम एकताको लागि सही सिद्धान्त जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद बाहेक अरू हुन सक्दैन । जनताको बहुदलीय जनवादले समाजको समग्र लोकतान्त्रीकरणको पक्षलाई मात्र उजागर गरेको छैन, कम्युनिष्टहरूलाई समाजवादको लक्ष भेद्ने मार्ग प्रशस्त गरिदिएको छ । अहिलेको विश्व परिस्थितिमा कम्युनिष्टहरूले शान्तिपूर्वक प्रतिस्पर्धामार्फत सत्ता सञ्चालन गर्ने र समाजको आमूल रूपान्तरण गर्दै समाजवादको लक्ष्य तय गर्न सक्छन् । 

​​​​​​​नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा (एमाले)ले जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाएर अघि बढे लगत्तै बलपूर्वक सत्ता कब्जा गर्ने उद्देश्यसहित सशस्त्र विद्रोहमा गएको माओवादी एक दशकपछि पुनः शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धा गर्ने संसदीय बाटोमा फर्किएपछि नेपालको वाम राजनीति जननेता मदन भण्डारीले देखाएको बाटोमै फर्किएको हो । एमाले–माओवादी अतिरिक्त संसदीय निर्वाचनबाटै संसद्मा पुगेका मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’, संसदीय निर्वाचनमै रमाइरहेका मोहनविक्रम सिंह र नारायणमान विजुक्छे ‘रोहित’ प्रकारान्तरले जनताको बहुदलीय जनवादकै अनुयायी हुन् भन्दा अत्युक्ति हुँदैन । त्यस कारण वाम एकताको अचुक सैद्धान्तिक अस्त्र जनताको बहुदलीय जनवाद नै हो ।

सही अर्थमा वाम एकता गर्ने हो भने त्यो एकतालाई निष्कर्षमा पुर्‍याउन सक्ने नेता आवश्यक हुन्छ । अहिलेको सन्दर्भमा एमाले अध्यक्ष के पी शर्मा ओलीलाई सबैले धुरी बनाएर वाम एकताको पहल गर्नुको विकल्प छैन । के पी शर्मा ओलीसँग विचारमा सहमत नहुने वाम नेता पनि ओलीले देश र जनताको पक्षमा चालेका धेरै कदमसँग सहमत देखिन्छन् । भारतसँग नझुकेर नेपालको गुमेको भू–भाग समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने विषय, विगतको भारतीय नाकाबन्दीको डटेर सामना गर्ने विषय, नेपालको एक पाखे विदेश नीतिलाई सन्तुलित बनाउने विषय, नागरिकता सम्बन्धी विधेयकमा अडान राख्ने विषय र जातीय सङ्घीयताको डटेर विरोध गर्ने विषय अधिकांश वाम नेता कार्यकर्ताले मुक्त कण्ठले प्रशंसा गरेका विषय हुन् ।

यति मात्र होइन, कुनै बेलाका प्रचण्डका कार्यकर्ता नेत्रविक्रम चन्द ‘विप्लव’को सशस्त्र विद्रोही जत्थालाई मूलधारको राजनीतिमा ल्याउने विषय, मधेसमा छुट्टै राज्यको अभियान चलाइरहेको सि के राउतको समूहलाई संविधानको दायरामा ल्याउने विषय र ओलीले चलाएको ‘सुखी नेपाली, समृद्ध नेपालको अभियानलाई देशका हुबहु वाम राजनीतिक पङ्क्तिले समर्थन गरेका छन् ।

के पी शर्मा ओली र उहाँले नेतृत्व गरेको नेकपा(एमाले)ले देश र जनताको पक्षमा गरेका राम्रा कामलाई देखेर नेपाली जनताले भर्खरै सम्पन्न आम निर्वाचनमा सो पार्टीलाई सबैभन्दा बढी मत दिएका छन् । एमालेबाट हुङ्कारका साथ चोइटिएको माधव–झलनाथ समूहलाई राष्ट्रिय पार्टीको मान्यता दिन समेत इन्कार गरेका नेपाली मतदाताले एमालेलाई दिएको त्यो पैमानाको अभिमतले एमाले नै वाम एकताको मियो हो भन्ने पुष्टि गरेको छ ।

संयोग नै भन्नुपर्छ, हाल नेपाली राजनीतिले फाजिलमा थन्क्याएको सानो वाम समूह नेकपा(एकीकृत समाजवादी)ले जनताको बहुदलीय जनवादमा विद्यावारिधि गरेका कुनै बेलाका एमाले प्रशिक्षक बेदुराम भुसालको नेतृत्वमा वाम एकता कार्यदल बनाएको छ । त्यसको सान्दर्भिकता हुन सक्थ्यो, यदि उनीहरूले त्यो कार्यदलको नाम एमालेसँग एकता कार्यदल राखेको भए । नेपालको वाम एकता त ओलीको नेतृत्व र पहलकदमीमा मात्र सम्भव छ । माधव–झलनाथले एमालेसँग ‘सम्मानजनक’ समायोजनको भित्री उद्देश्य राखेर यो वार्ता समूह बनाएको भए त्यसलाई स्वागतयोग्य कदम नै मान्नुपर्छ । फेरि पनि ओली–प्रचण्ड सत्ता समीकरणलाई अप्ठ्यारो पार्ने दूषित मनसायले यसो गरिएको भए यो भर्त्सनायोग्य कदम हो ।

रोम सहरमा एउटा कहावत छ : (‘If you can’t win them, join them) विचारमा, राजनीतिमा, भिजनमा र सङ्गठनमा ओलीलाई कसैले पनि जित्न सकेनन् । जित्न नसकेपछि चतुर प्रचण्ड ओलीसँग हात मिलाउन हतार–हतार बालकोट पुगे । माधव–झलनाथलगायत अरू लाइनमा छन्, आउँदै छन् ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ८ : ४३ बजे