काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउन गठित मस्यौदा कार्यदलको बैठक आज बस्ने भएको छ ।
अर्थ मन्त्रालयमा आज दिउँसो १ः०० उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलको बैठक बस्न लागेको हो ।
पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न उपप्रधान एवम् अर्थमन्त्री पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
कार्यदलमा माओवादीबाट वर्षमान पुन, रास्वपाबाट मुकुल ढकाल र राप्रपाबाट धवलशमशेर राणा सदस्य हुनुहुन्छ ।
कार्यदलको आजको बैठकले गठबन्धनका साझेदार दलहरूबाट सुझाव लिइएको आधारमा न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी गरेको छ ।
प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार १२ : २२ बजे
प्रतिक्रिया