अर्थतन्त्र सुधार्न वित्त र मौद्रिक नीतिबीच समन्वय गरिन्छ: अर्थमन्त्री पौडेल

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधार्न वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरेर अघि बढ्ने बताउनु भएको छ।

अर्थमन्त्रालयमा बुधबार आयोजित महाशाखागत ब्रिफिङ लिने क्रममा उहाँले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीच जीवन्त सम्बन्ध हुने भए पनि हस्तक्षेप नहुने बताउनुभयो ।

उपप्रधान तथा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखा परेका समस्या समाधानका उपायलाई कार्यान्वयन गरेर अघि बढ्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो । यस क्रममा अर्थमन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाले नेपालको अर्थतन्त्रमा तीनवटा मुख्य समस्या रहेको जानकारी गराएको छ । जसमा वित्तीय प्रणालीमा लगानी योग्य रकमको अभाव, न्यून राजश्व परिचालन र मुद्रा स्फीति समस्या छन् ।

अहिले लगानीयोग्य रकम विस्तारै सहज हुन थालेको, मुद्रास्फीति नियन्त्रण उन्मुख रहेको महाशाखाको भनाइ छ । महाशाखाले पुस १८ गतेसम्म अधिक तरलता २७ अर्ब रुपैयाँ रहेको, नेपालमा ३२ अर्ब रुपैयाँसम्मको अधिक तरलतालाई राम्रो मानिने गरेको र गत हप्ता ४५ दिनको लागि ५० अर्ब रुपैयाँ तरलता प्रवाह गरेको जानकारी पनि गराएको छ ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ८ : ४० बजे