प्रधानमन्त्रीद्वारा अर्थतन्त्रको अवस्थाबारे अर्थमन्त्री र गभर्नरसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले'ले आज उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गर्नुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज उहाँहरुबीच देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैङ्किङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा  छलफल भएको हो । 

छलफलमा प्रधानमन्त्रीले बैङ्किङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरूको विषयमा चासो  राख्नुहुँदै ब्याजदर घटाउन तथा तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपायहरूको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न तथा अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसूचित र सचेत तुल्याउन आवश्यक रहेको बताउनुभयो । 

 

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ११ : ३८ बजे