राष्ट्रपति भवनमा घटस्थापना

यातायातको सेवामा विकृति : स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया

काठमाडौँ । यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ । 

प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन ।

काठमाडौँ उपत्यकाका केही यातायात कार्यालयहरूमा मङ्गलवार गरिएको सूक्ष्म अनुसन्धानका क्रममा अनुचित र नक्कली कार्यमा बिचौलिया सक्रिय रहेको पत्ता लागेको हो । 

मङ्गलवार मात्रै गरिएको अनुसन्धान तथा बिचौलिया नियन्त्रण अभियानका क्रममा सेवाग्राहीलाई अनुचित रूपले प्रभावमा पार्ने पाँच र फर्जी स्वास्थ्य परीक्षण रिपोर्ट बनाउने कार्यमा संलग्न दुई गरी सात जनालाई पक्राउ गरिएको रानीपोखरीस्थित काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । 

उक्त कार्यालय र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले ललितपुरको एकान्तकुनासिथत यातायात व्यवस्था कार्यालय तथा काठमाडौँको ठुलो भर्‍याङ र चाबहिलबाट उनीहरूलाई पक्राउ गरी कारबाही थालेको हो । 

उनीहरूले विभिन्न यातायात कार्यालयमा सेवाग्राहीलाई सहजीकरण गरिदिन्छौँ, छिटोछरितो रूपमा काम गरिदिन्छौँ, नपुगेका कागजात पुर्‍याइदिन्छौँ भनी प्रलोभनमा पारी हैरानी दिने गरेको पाइएको उहाँले बताउनुभयो ।

प्रवक्ता रिजालले कुनै पनि सरकारी कार्यालयमा नियम सङ्गत हुने काममा सेवाग्राहीलाई अनावश्यक हैरानी दिई नियमित काम कारबाहीलाई असर पार्ने बिचौलिया तथा समूहउपर प्रहरीले निगरानी तथा कारबाही बढाएको बताउनुभयो ।

यदि यस्तो सूचना आएमा प्रहरीको हटलाइन १०० र १०३ मा फोन गरी जानकारी दिन पनि प्रहरीले अनुरोध गरेको छ ।

वायु प्रदूषण गराउने १४ सवारी चालक कारबाहीमा
​​​​​​​काठमाडौँको कलङ्कीमा मङ्गलवार गरिएको विशेष जाँच अभियानका क्रममा अत्यधिक धुवाँ फाली वायु प्रदूषण गराउने १४ सवारीसाधनका चाकललाई कारबाही गरिएको छ ।  

बबरमहलस्थित वातावरण विभाग तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको प्रहरी र दक्ष प्राविधिकसहितको टोलीले चलाएको उक्त जाँच अभियानमा ४३ गाडीमा गरिएको  परीक्षणमा १४ सवारीसाधन असफल भए ।

सो क्रममा चालकलाई सवारीसाधन मर्मतपश्चात् तोकिएको जरिवाना तिरी कागजात फिर्ता गर्ने गरी छाडिएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । 

यस्ता सवारीसाधनले वायु प्रदूषण गराउनाका साथै ठिक नभएका सवारीसाधन चलाउँदा दुर्घटनाको समेत जोखिम हुन्छ । त्यसैले आफ्नो सवारीसाधनको अवस्था दुरुस्त राख्न अनुरोध गरिएको र त्यस्तो पाइएमा कारबाही गरिने प्रवक्ता भट्टले बताउनुभयो । रासस

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  १० : १३ बजे