साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बर्दियाको नरभक्षी बाघ सदर चिडियाखानामा कैद

काठमाडौँ – बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिइएको नरभक्षी बाघलाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ । यही चैत २२ गते डार्ट गरी नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघलाई चिडियाखानामा आज ल्याईएको हो ।

    निकुञ्जमा कार्यरत हात्तीका पछुवा पुलिसराम थारुको राष्ट्रिय गैँडा गणना कार्यक्रम–२०२१ मा सहभागी भइरहेकै अवस्थामा सोही बाघको आक्रमणबाट यही चैत २२ गते मृत्यु भएको हो । उक्त बाघलाई त्यसैदिन बेलुका ८ बजे नियन्त्रणमा लिइएको थियो ।

    केही महिनायता बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र खाता जैविकमार्ग वरपर सिलसिलाबद्ध रूपमा भएका मानव–बाघ द्वन्द्वका घटनाले मानवीय क्षति व्यहोर्नुपरेको थियो । चालु आर्थिक वर्षमा मात्र बाघको आक्रमणबाट १० जना मानिसको मृत्यु हुन पुगेको छ । जसमध्ये तीन निकुञ्जभित्र, पाँच जैविक मार्ग क्षेत्रमा र दुई मध्यवर्ती क्षेत्रको जङ्गलमा भएका हुन् ।

    सिलसिलाबद्ध रूपमा मानव–बाघ द्वन्द्व बढिरहेका बेला सरोकारवाला निकायलाई यो द्वन्द्वको तत्काल समाधान गर्न दबाब बढिरहेको छ । यसै सिलसिलामा गत एक वर्षभित्रमा बर्दियाको विभिन्न स्थानबाट मान्छे खान पल्किएका चार बाघलाई बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेना, देवीदत्तगण र नेपाल प्रहरीको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको छ ।

    त्यसमध्ये एक बाघलाई आज चिडियाखानामा ल्याइएको, एक बाघ बर्दियामै राखिएको, एक बाघ केही दिन बाँकेमा राखिएको अवस्थामा फुत्किएर पुनः जङ्गलमै फर्किएको र एक बाघ बूढो भएको र नियन्त्रणमै रहेको अवस्थामा मरेको चिडियाखानाका सूचना अधिकारी लिना चालिसेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ३ : ३९ बजे