यी ४ वटा वाणिज्य बैंकलाई मर्जरका लागि स्विकृती

काठमाडाैं । नेपाल राष्ट्र बैंकले ४ वटा वाणिज्य बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको छ।राष्ट्र बैंकले ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड तथा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडले मर्जरका लागि अन्तिम स्विकृती प्राप्त गरेका हाे ।

राष्ट्र बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडलाई मर्जरका लागि अन्तिम स्विकृती दिएकाे थियाे । यस्तै, ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडलाई राष्ट्र बैंककाे शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले अन्तिम स्विकृती दिएकाे हो ।

राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएसँगै अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि यी बैंकहरूलाई एकिकृत कारोबार सुरू गर्ने बाटो खुल्नेछ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडको पुस ७ गते सम्पन्न साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको थियो । यी दुवै बैंक १००ः९० को अनुपातमा मर्ज हुन लागेका हुन् । नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता सेयर पाउने छन् ।

मर्जर पछि बैंकको नाम “ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड” हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा ज्योती प्रकाश पाण्डे रहने सहमति भएको छ ।

मर्जरपछि बन्ने नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको चुक्तापुँजी ३४ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ। हाल इन्भेस्टमेन्ट बैंकको चुक्तापुँजी १८ अर्ब ३० करोड रुपैयाँ र मेगा बैंकको १६ अर्ब १२ करोड रहेको छ।

त्यसैगरी, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको मंसिर २३ गते सम्पन्न भएकाे साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको थियो । यी दुवै बैंक १:१ को अनुपातमा मर्ज हुन लागेका हुन् ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  १ : ०२ बजे