मनसुन क्रमशः क्षीण हुँदै

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

एमाले अध्यक्ष ओलीसँग स्विट्जरल्याण्डका राजदूतको भेट 

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेल्लर विकले भेट गर्नुभएको छ । 

अध्यक्ष ओली निवास बालकोटमा शुक्रवार भएको भेटमा उहाँहरूबीच दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध, आर्थिक सम्बन्धका साथै राजनीतिक, सामाजिक तथा समसामयिक विषयमा कुराकानी भएको थियो । 

सो अवसरमा अध्यक्ष ओलीले नेपालको आर्थिक अवस्थालाई माथि उठाउनु वर्तमान सरकारको प्रमुख लक्ष्य हुने बत्ताउँदै यसमा सबैबाट सहयोगको अपेक्षा राख्नुभयो । 

अध्यक्ष ओलीले विधि, मूल्यमान्यता, सुशासन, भ्रष्टाचारहित लोकतन्त्र चाहेको बताउनुभयो । उहाँले देशमा गरिबी उन्मूलन गर्ने, स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा लगायतका  विषयमा ध्यान केन्द्रित रहने बताउनुभयो । अध्यक्ष ओलीले देशको विद्यमान अवस्थामा उल्लेखनीय सुधार ल्याउनका निम्ति आवश्यक कदम चालिने बताउनुभयो ।

राजदूत विकले स्वीस सरकार तथा अन्य युरोपेली मुलुकहरू नेपालमा  लगानी गर्न इच्छुक रहेको जानकारी गराउनुभयो । उहाँले स्विट्जरल्याण्डले प्रविधि, अन्वेषण र इन्जिनियरिङमा लगानी गरी नेपाललाई सहयोग गर्न तयार रहेको बताउनुभयो । 

राजदूत विकले नेकपा (एमाले)ले प्रदेशको मुद्दालाई महत्त्व दिएकोमा खुसी व्यक्त गर्नुभयो । यसबाट स्थानीय नागरिकले विभिन्न विषयमा अवसर पाउनुका साथै साना साना कुराहरू प्रदेशबाट नै समाधान हुने भई उनीहरूको जीवनस्तर सुधारका लागि मद्दत पुग्ने उहाँको भनाई थियो । 

उहाँहरुबीच भेटमा सङ्क्रमणकालीन न्यायको विषय टुङ्ग्याउने बारेमा पनि छलफल भएको थियो । 

भेटमा नेकपा (एमाले)विदेश मामिला  विभाग सचिव डा.अन्जान शाक्य पनि उपस्थित हुनुहुन्थ्यो ।

 

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ११ : ०९ बजे