सुनको मूल्यमा नयाँ कीर्तिमान

जनशक्ति अभावले महाकाली अस्पतालको सेवा प्रभावित

दोधारा चाँदनी । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ । 

कोरोना सङ्क्रमणका बेला राखिएका छ कर्मचारीको करार सम्झौता सकिएपछि सुदूरपश्चिम प्रदेश सरकारले करार सेवा थप नगर्दा अस्पतालको सेवा प्रभावित बनेको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिले जनाएको छ । 

अस्पतालको पिसीआर ल्याबमा कार्यरत छ कर्मचारीको करार सेवा थप नभएपछि अस्पतालको पिसीआर ल्याब बन्द भएको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारले सुदूरपश्चिममा कैलालीको सेती र डडेलधुरा अस्पताललाई मात्रै कोभिड अस्पताल घोषणा गर्दा समस्या भएको हो ।

सरकारले महाकाली अस्पताललाई कोभिड अस्पतालको रूपमा नलिएपछि कोरोनाका बेला राखिएका कर्मचारीको करार सेवा थप नभएको हो । 

“सरकारले एकातर्फ कोभिड अस्पताल घोषणा गरेन, अर्को कोरोना सङ्क्रमणका बेला भर्ना भएका कर्मचारीको करार सेवा थप गरेन यसले जनशक्ति अभाव भयो”, उहाँले भन्नुभयो, “बजेट अभाव हुँदा ल्याबका लागि आवश्यक अन्य सामग्रीसमेत अभाव छन् जसले गर्दा सेवा बन्द हुन पुग्यो ।” छिमेकी मुलुकमा कोरोनाका नयाँ भेरियन्ट देखिँदा थालेपछि त्यसको जोखिम यहाँ पनि कायम रहेका बेला कोरोना परीक्षण गर्ने मेसिन नै बन्द हुन पुगेको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिले पनि छिमेकी मुलुकमा कोरोनाको नयाँ भेरियन्ट देखा परेकाले यहाँ पनि जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । 

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना सङ्क्रमणको जोखिमबाट बच्न सबै निकायले आवश्यक तयारी गर्ने निर्णय गरेको बताउनुभयो । 

“भविष्यमा आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै अक्सिजन, आइसोलेसन र होल्डिङ सेन्टर व्यवस्थापनलगायतका पूर्व तयारी गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो, “सीमा नाका व्यवस्थित गर्ने र सावधानीका उपाय अपनाउने विषयमा छलफल भएको छ ।” 

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले भारतसँग जोडिएको सीमा नाका गड्डाचौकीमा भारतबाट फर्किनेको नाकामै एन्टिजेन परीक्षण भइरहेको जनाएको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड फोकल पर्सन सिद्धराज भट्टले नाकामा भारतबाट फर्किनेमा दिनहुँ एन्टिजेन परीक्षण भइरहेको बताउनुभयो । रासस

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ७ : ५६ बजे