मनसुन क्रमशः क्षीण हुँदै

बालिका अधिकार संरक्षणमा सरोकारवालाको जोड

​​​​​​​काठमाडौँ । दिनदिनै बढ्दै गइरहेको बालिका तथा किशोरीमाथि हुने हिंसा, दुर्व्यवहार, बलात्कार, एसिड आक्रमण, बाल विवाह, बालिकाहरूमाथि हुने विभेदप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । 

जागृति बाल तथा युवा सरोकार नेपालले आफ्नो १८ औँ साधारण सभाको अवसरमा आयोजित बालिका अधिकार संरक्षणमा सरोकारवालाको भूमिका विषयक छलफल कार्यक्रममा राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष कृष्णाकुमारी खतिवडाले छोरीमाथि हुने सबै प्रकारका हिंसा विरुद्ध कानुनी सचेतना र दोषी उपर कारबाहीका निम्ति लाग्नुपर्ने कुरामा जोड दिनुभयो । 

अधिवक्ता इन्दु तुलाधरले बालिकाहरूको शिक्षा, स्वास्थ्य र संरक्षणमा ध्यान पुर्‍याउन नसकेका कुरालाई जोड दिँदै तिनै तहका सरकार र निकायहरूमा लैङ्गिक मैत्री नीति, कार्यक्रम, बजेट र त्यसको कार्यान्वयनको सुनिश्चितता हुनुपर्ने र त्यस्ता कार्यक्रममा नागरिक सङ्घसंस्था सञ्जालको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । 

राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बम बहादुर बानियाँ, राष्ट्रिय योजना आयोगका डा। किरण रुपाखेती, राष्ट्रिय युवा परिषद्का उपसचिव चन्दा थापा, राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेल, सिविनका कार्यकारी निर्देशक सुम्निमा तुलाधर, देवचुली न.पा.का उपप्रमुख पार्वता तिवारीले सरकारले बालिका तथा किशोरीमा लगानी बढाउनु पर्ने, उनीहरूको संरक्षणमा थप ध्यान दिनुपर्ने, बालमैत्री, युवामैत्री, लैङ्गिक मैत्री अभियानलाई अघि बढाउने प्रतिबद्धता सहित जागृति बाल तथा युवा सरोकार नेपालले गरेका कार्यक्रम र उपलब्धिको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नुभयो । 

जागृति बाल तथा युवा सरोकार नेपालको इतिहास हालसम्मका उपलब्धिहरूको सार्वजनिक परीक्षण गराउँदै कार्यक्रममा संस्थाका कार्यक्रम, साझेदार संस्था, सञ्जालहरू, गतिविधि, कार्य गर्ने जिल्ला सहितका प्रस्तुतीकरण गराउँदै बालिका तथा किशोरी सूचना तथा स्रोत केन्द्र, बालमैत्री शासन प्रवर्द्धन, बाल श्रम, आधुनिक दासता, हिंसा, दुर्व्यवहारमा परेकाको उद्धार, बालिका सशक्तीकरण, विद्यालय पोषण कार्यक्रम, विद्यालय भवन निर्माण, कानुनी सहायता, युवामैत्री स्थानीय शासन, जीविकोपार्जन सहित गरेका कार्यहरू प्रस्तुतीकरण सहित सुमिक्षा खड्काले सुझाव माग्नु भएको थियो । 

बालिका तथा किशोरीहरूको संरक्षणका लागि योगदान पुर्‍याएको भन्दै अभियन्ता मुस्कान खातुनलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष तिलोत्तम पौडेलको अध्यक्षता गर्नु भएको थियो भने महासचिव दीपक शर्माले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । 

कार्यक्रममा समाज कल्याण परिषद् सदस्य नारायण गिरी, युएनडिपिकी विनिता कार्की, गैरसरकारी संस्था महासङ्घका महासचिव अर्जुन भट्टराईसहित १५ वटा नागरिक सङ्गठन सञ्जाल, ८ वटा विकासका साझेदार संस्था, २५ वटा नागरिक सङ्गठन, किशोरी तथा किशोर सञ्जालका प्रतिनिधि, जन प्रतिनिधि सञ्चारकर्मी सहित १०० भन्दा बढीको सहभागिता रहेको थियो । 

कार्यक्रममा प्रतिनिधिसभाका सदस्यहरू कल्पना मिया, सोविता गौतम, विना लामा तथा बागमती प्रदेश सभा सदस्य, उर्मिला अर्यालको सहभागिता रहेको थियो । 

उक्त कार्यक्रममा उहाँहरूले बालबालिका तथा किशोरीहरूको हकहित अधिकार संरक्षणको निम्ति ऐन कानुन निर्माण, सुधार र कार्यान्वयनको निम्ति पहल, गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँहरूलाई संस्थाले “बालबालिका राष्ट्रिय गौरव हुन्” भन्ने अभियानलाई स्थापित गर्न आग्रह सहित सम्मान समेत गरिएको थियो भने यसै कार्यक्रमका बीचमा बालिका अधिकारका लागि राष्ट्रिय सञ्जालको सचिवालय स्वतन्त्रता अभियानलाई हस्तान्तरण गरिएको थियो ।  

२०६१ सालमा स्थापित भएको बाल क्लबका पूर्व सदस्यहरू अगुवाइमा स्थापित संस्थाको १८ औँ साधारण सभाले बालबालिका राष्ट्रिय गौरव हुन् भन्ने अभियानलाई स्थापित गर्ने, बालबालिका शिक्षा स्वास्थ्य संरक्षण, जिविको पार्जन, जोखिममा परेकाको उद्धार पुनर्स्थापना र कानुनी सहायतामा थप क्रियाशील हुने निर्णय गर्दै सम्पन्न भएको छ । 

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ७ : ४२ बजे