भन्सार छलेर भित्रिएका मोबाइलहरु आजदेखि नचल्ने

काठमाडौं – भन्सार घोषणा नभएका मोबाइल सेटहरु आजदेखि नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याएकाले भन्सारबाट जाँचपास विना लुकिछिपी भित्राइएका मोबाइल सेटहरु नचल्ने भएका हुन् ।

भन्सार छलेर अवैध रूपमा भित्रिएका मोबाइलको प्रयोग निरुत्साहित गर्ने उद्देश्यसहित सो प्रणाली सञ्चालनमा ल्याउन लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले विगत एक हप्तायता सार्वजनिक सूचना नै जारी गरेर आजदेखि दर्ताबिनाका कुनै पनि मोबाइल प्रयोगमा रोक लगाइने जनाएको हो ।

प्राधिकरणको सूचनाअनुसार अबदेखि व्यावसायिक वा व्यक्तिगत रूपमा ल्याइएका मोबाइल यो प्रणालीमा अनिवार्य रूपमा दर्ता हुनुपर्नेछ । विदेशबाट व्यक्तिगत रूपमा ल्याइने मोबाइल पनि भन्सार प्रज्ञापनपत्र घोषणा भएको हुनुपर्ने प्राधिकरणले जनाएको छ । त्यस्तो प्रज्ञापनपत्रलाई अनलाइनमार्फत एमडीएमएस प्रणालीमा दर्ता गरेर मात्र प्रयोग गर्न सकिने पनि प्राधिकरणले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  १ : ४६ बजे