नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशन विराटनगरमा हुने

विराटनगर । नेकपा एमालेको जनवर्गीय सङ्गठन नेपाल खेलकुद महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन विराटनगरमा हुने भएको छ । 

फागुन ७ गते हुने महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने छ । 

महासङ्घका अध्यक्ष पर्शुराम बस्नेतले महाअधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताउनुहुँदै महाधिवेशनको तयारी सुरु भएको जानकारी दिनुभयो ।

उहाँले यो महाधिवेशन समग्र खेल क्षेत्रमा लाग्नेहरूको लागि उत्सवको रूपमा रहने बताउनुभयो । 

अध्यक्ष बस्नेतले महाधिवेशनको उद्घाटन १० हजारभन्दा बढीको सहभागितामा आमसभाका रूपमा गरिने भन्दै बन्द सत्रमा समेत करिब ६ सय प्रतिनिधि, पर्यवेक्षक तथा खेल क्षेत्रका अगुवालगायतका १ हजारभन्दा बढीको सहभागिता हुने जानकारी दिनुभयो । 

खेल क्षेत्रलाई महत्त्व दिने पार्टी नेकपा एमाले नै रहेको भन्दै उहाँले खेलकुद महासङ्घले खेलकुदको प्रवर्धन गर्दै खेलाडीहरूको हितका लागि नीति निर्माणमा पार्टीलाई दबाब दिने र यस क्षेत्रको समग्र विकासका लागि प्रयत्न गर्ने मुख्य उद्देश्य रहेको बताउनुभयो । 

यसैबिच महाधिवेशनलाई भव्य र सभ्य बनाउनका लागि नेकपा एमाले मोरङले समेत सहयोग गर्ने निर्णय गरेको छ । बुधवार  बसेको पार्टीको जिल्ला कमिटीको पूर्ण बैठकले महाधिवेशनलाई भव्य बनाउन सहयोग गर्ने निर्णय गरेको हो । 

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  १२ : १२ बजे