मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिनभित्र बनाउने सत्ता साझेदार दलको निर्णय

काठमाडौँ । सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिनभित्र बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदाका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा हरेक दलको प्रतिनिधिसहितको समिति बनाउने निर्णय गरेको  उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिनुभयो । 

“हामीले के का लागि सरकार बनायौँ भनेर देखाउनका लागि साझा कार्यक्रम ल्याउन लागेका छौँ । त्यसका लागि सबै दलबाट एक/एक जना प्रतिनिधि रहन्छन् । त्यसले साझा कार्यक्रमको मस्यौदा तय गर्नका लागि अब निरन्तर बैठक बस्छ ।” उहाँले भन्नुभयो । 

यस्तै बैठकमा मन्त्रिपरिषद् विस्तार एवं अन्य समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको उहाँले जानकारी दिनुभयो । 

मन्त्रिपरिषद् विस्तार गर्दा क्षमताका आधारमा काम गर्न सक्ने विज्ञलाई समेटेर विषयगत रूपमा समेत योग्य व्यक्तिलाई पनि समावेश गर्ने विषयमा बैठकमा महत्त्वपूर्ण विचार–विमर्श भएको थियो । 

उहाँले आजको बैठकलाई सुरुआती बैठकका रूपमा लिँदै शुक्रवार पुनः बैठक बस्ने बताउनुभयो ।

आज बसेको बैठकमा नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधानमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनलगायत सहभागी हुनुहुन्थ्यो ।  

 

 

 

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ११ : ४२ बजे