‘एउटै नाउरको सिकार गर्न २३ लाख’

माधव–झलनाथको पीडा र बालकोटको बार्दली

नेपाली काङ्ग्रेसबाट धोका पाएका भनिएका प्रचण्ड नेकपा(एमाले)को साथ पाएर प्रधानमन्त्री बनेपछि देशका राजनीतिले कोल्टे फेरेको छ । 

काँग्रेस नेतृत्वको विजातीय गठबन्धनको ठाउँमा एमाले नेतृत्वको सही गठबन्धनले स्थान जमाएको छ । तत्कालीन प्रधानमन्त्री के पी शर्मा ओलीलाई १९ बुँदे आरोप लगाएर साबिक नेकपा विभाजन गरेका प्रचण्ड आफ्नो गल्ती महसुस गरेर ओलीसँग सहकार्य गर्न तयार भएपछि एकीकृत भइसकेको कम्युनिष्ट आन्दोलनलाई विखण्डनतर्फ लैजान ज्यान छोडेर लागेका अर्का पात्र माधव नेपाललाई ठुलै पीडा महसुस भएका समाचार बाहिरिएका छन् । 

भत्किएको कथित वाम– लोकतान्त्रिक गठबन्धनबाट आफू पीडित भएको, नेपाली काँग्रेस र माओवादी दुवैले आफूलाई वास्ता नगरेको र प्रचण्डले ओलीसँग मिल्नुअघि आफूसँग एक शब्द नसोधेको गुनासो माधव नेपालले गरेका छन् । उनले आफू सबैतिरबाट हेपिएको गुनासो सार्वजनिक गरेका छन् ।

१५ वर्ष एमालेको महासचिव बनेका माधव नेपाललाई एमालेबाट बाहिरिँदै गर्दा लागेको थियो–एमालेको एक मात्र नेता मै हुँ, म एमालेबाट निस्किएपछि एमालेको अस्तित्व समाप्त हुन्छ । अझ एमालेका अर्का पूर्व अध्यक्ष झलनाथ खनालले पनि उनलाई साथ दिएपछि उनको एमाले सक्ने हौसला चरमचुलीमा पुगेको थियो । एमाले विरोधी विदेशी शक्ति र काँग्रेससँग मिलेर एमाले सिद्ध्याउने उनको चर्को डङ्का पिटाइ थियो । शेरबहादुर देउवाको भुलभुलैयामा परेर आफ्नो गौरवशाली इतिहास मेटाउने प्रपञ्च थियो ।

प्रचण्डसँग मिलेर जति सिद्ध्याउन खोज्दा पनि ओली डगमगाउनु भएन, बरु नेपालको कम्युनिष्ट आन्दोलनको एक प्रतिस्पर्धाविहीन नेताको रूपमा उदाउनुभयो । एमालेलाई अजेय शक्तिको रूपमा कायम राख्न समर्थ हुनुभयो । एमालेलाई जनताको रोजाइको प्रथम पार्टी बनाएरै छोड्नुभयो ।

साबिक नेकपाभित्र चर्को घेराबन्दी र असहयोग भए पनि तत्कालीन प्रधानमन्त्री ओलीले देशको आर्थिक समृद्धिको योजनालाई निरन्तरता मात्र दिनुभएन, देशको नक्सा फेर्ने ऐतिहासिक काम गर्नुभयो । कोभिडको महामारीबाट जनतालाई जोगाएर जनतालाई राहत पुग्ने कार्यलाई तीव्रता दिनुभयो । प्रचण्डसँग मिलेर जति सिद्ध्याउन खोज्दा पनि ओली डगमगाउनु भएन, बरु नेपालको कम्युनिष्ट आन्दोलनको एक प्रतिस्पर्धाविहीन नेताको रूपमा उदाउनुभयो । एमालेलाई अजेय शक्तिको रूपमा कायम राख्न समर्थ हुनुभयो । एमालेलाई जनताको रोजाइको प्रथम पार्टी बनाएरै छोड्नुभयो ।

उता भगीरथ प्रयत्न गर्दा पनि माधव नेपालले पार्टी निर्माण गर्न सकेनन् । पार्टी निर्माण गर्न सही सिद्धान्त, नीति र कार्यक्रम चाहिन्छ । पदका लागि पार्टी फुटाउने माधव नेपालसँग त्यो हुने कुरा पनि भएन । नेपाली काँग्रेसको मतले केही नेता कार्यकर्ता स्थानीय निर्वाचनमा र केही नेता सङ्घीय र प्रदेशसभामा जिते पनि उनको समूहले राष्ट्रिय पार्टीको आकार लिन सकेन । सत्ताका लागि गरिएको गठबन्धन पनि टुटेपछि माधव नेपालको हातमा अब के नै बाँकी रह्यो र ?

माधव नेपाल, झलनाथ खनाललगायतका पूर्व एमाले नेतासँग अब एउटै मात्र विकल्प बाँकी छ । त्यो हो–एमालेमै फर्कनु । प्रचण्डले जस्तै बालकोट पुगेर एमाले अध्यक्ष के पी शर्मा ओलीसँग अन्तरङ्ग छलफल गर्नु र विगतमा आफूले गरेका गम्भीर भूलको आत्माआलोचना गर्नु । माधव नेपाल र झलनाथ खनालले शायद बिर्सेका छैनन्। एमाले सागर हो,ऊ आफ्नो नेता र जमातसँग चाँडै द्रवीभूत हुन्छ, माया गर्छ र पुनः नेता बनाउँछ । के पी ओलीको यति विराट हृदय छ, उहाँसँग मिलेर काम गर्न कुनै आइतबार कुर्नु पर्दैन । एमाले अरूजस्तो कृतघ्न छैन, षडयन्त्रकारी र धोकेबाज छैन । एमालेसँग जनताको बहुदलीय जनवादजस्तो प्रष्ट सिद्धान्त छ, सुखी नेपाली, समृद्ध नेपाल बनाउने सङ्कल्प र खाका छ । प्रचण्डलाई काखी च्यापेर हिँड्न सक्ने एमाले माधव र झलनाथलाई किन बोक्न सक्दैन ? अनि ओली र प्रचण्डको मिलन हुनसक्छ भने ५० वर्षे सहयात्री ओली, माधव र झलनाथबीच किन सहकार्य हुन सक्दैन ?

७० काट्न लागेका वा काटिसकेका एकीकृत समाजवादीका नेता कार्यकर्ताले भनेको सुनिन्छ–एमाले फर्केर के गर्नु, एमालेको विधानमा रहेको ७० वर्षे उमेर हदले हामीलाई केवल सल्लाहकारको भूमिकामा थन्क्याउँछ । यो केवल प्राविधिक विषय हो, परिवर्तनीय विषय हो । सबै कुरा मिल्दा, एमाले एक ढिक्का हुँदा उमेर हद वाधक बन्छ र ? जीवनको उत्तरार्धमा मान सम्मानको खोजी गर्दै भड्किएका माधव, झलनाथले आफ्नो घर एमालेमा भन्दा अन्त कहाँ सम्मान पाउँछन् ?

माधव समूह एमालेमा फर्कँदा एमाले सङ्ख्याको हिसाबले पनि नेपाली काँग्रेसभन्दा ठुलो पार्टी बन्छ । मनोवैज्ञानिक हिसाबले एमाले माथि पर्छ । डोलायमान प्रचण्डलाई पनि एमालेमै एकाकार हुन बाध्यता आइलाग्छ, पुनः वाम ध्रुवीकरण सुरु हुन्छ । सबैलाई थाहा छ– वाम ध्रुवीकरणले मात्र कम्युनिष्टहरूको साझा गन्तव्य समाजवादमा पुग्न सकिन्छ । केही वर्ष सबैले के पी शर्मा ओलीलाई धुरी बनाएर अघि बढ्दा देशको भलो हुन्छ, जनताको मुहार फेरिन्छ, सबैको भलो हुन्छ ।

समग्र कम्युनिष्टहरूको कल्याणका लागि र माधव समूहमा भौँतारिएका नेता कार्यकर्ताको तत्काल उद्धारका लागि यति मात्र सुझाव दिन सकिन्छ–विराट हृदय बोकेर, बालकोटको बार्दलीमा बासँग वार्ता सुरु गर ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ९ : ३० बजे