लुम्बिनी प्रदेशसभा सचिवालयको काम आजदेखि देउखुरीबाट

बुटवल  । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङको देउखुरीबाट आजदेखि प्रदेशसभा सचिवालयले सबै कामकाज सुरु गर्ने भएको छ ।

बुटवलबाट हुँदै आएको प्रदेशसभा सचिवालयको काम अब बुटवलबाट करिब एक सय किलोमिटर पश्चिममा पर्ने स्थायी राजधानी देउखुरीबाट सञ्चालन गर्न लागिएको हो । 

प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरका अनुसार आजदेखि सचिवालयको सबै काम देउखुरीबाट हुनेछ । जसका लागि प्रदेश सचिवलगायत सचिवालयमा कार्यरत सबै कर्मचारी राजधानी क्षेत्रमा पुगिसक्नुभएको छ ।

लुम्बिनी प्रदेशसभाको बैठक पनि स्थायी राजधानी दाङमा बस्दै छ । 

लुम्बिनी प्रदेश सरकारको प्रशासनिक भवनभित्रै पाँच करोड २० लाख लागतमा तयार गरिएको संसद् भवन र सचिवालय भवन पनि सञ्चालनको अन्तिम तयारी अवस्थामा छन् । 

स्थायी राजधानी दाङबाटै प्रदेश सांसद, मुख्यमन्त्री र मन्त्रीहरूलाई स्वागत एवं शपथ खुवाउने तयारी प्रदेश सरकारको छ । जसका लागि अहिले प्रदेशसभा भवन सिँगार पटार गर्ने काम भइरहेको छ । 

प्रदेशसभा सचिव पुनले नवनिर्मित प्रदेशसभा भवनबाटै सदन चलाउने तयारीसहित काम अघि बढेको बताउनुभयो । प्रदेश प्रमुखबाट संसद् बैठक आह्वान हुने र त्यसपछि सभा सदस्यको शपथग्रहण र संसद्को पहिलो बैठक बस्ने उहाँले बताउनुभयो । “अबको प्रदेशसभा बैठक र नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ यहीँ राख्ने योजना छ”, उहाँले भन्नुभयो ।

उहाँले संविधानतः प्रदेशसभाको अधिवेशन पुस २१ भित्र बोलाइसक्नु पर्ने र त्यसपछि मात्र प्रदेशसभा सदस्यको शपथ ग्रहण हुने बताउनुभयो । उहाँले पुस १५ गतेदेखि २१ गतेको बीचमा शपथ ग्रहण हुने जानकारी दिनुभयो । 

 

 

 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ७ : ३६ बजे