पूर्वी नवलपरासीका अधिकांश सिसी क्यामेरा बिग्रिए

कावासोती । सडक सुरक्षा र आपराधिक घटना न्यूनीकरण गर्न पूर्वी नवलपरासीमा जडान गरिएका एक सय १५ मध्ये ६८ सिसी क्यामेरा बिग्रिएका छन् । 

प्रहरीको मातहत रहने गरी जडान गरिएका क्यामेरामध्ये ६८ वटाले काम गर्न छोडेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार नारायणगढ बुटवल सडक विस्तार र निर्माण, समय समयमा आउने हावाहुरी, पानी, चट्याङका कारण जिल्लाका विभिन्न स्थानका क्यामेरा बिग्रिएका हुन् ।

कावासोती नगरपालिकामा जडान भएका ३३ मध्ये १६, देवचुलीका १०, मध्यविन्दु नगरपालिकाका ११ मध्ये चार, विनयी त्रिवेणीका १२ मध्ये नौ र गैँडाकोट नगरपालिकाका ४९ मध्ये २९ सिसी क्यामेरा बिग्रिएर काम नगर्ने भएका हुन् ।  

गण्डक ब्यारेजको चार वटै सिसी क्यामेरा बिग्रँदा सीमा नाकामा समस्या भएको छ । गैँडाकोटदेखि दाउन्नेसम्म करिब ६५ मुख्य सडक खण्ड पर्ने भएकाले सवारी दुर्घटना, लागु औषधसहितका आपराधिक गतिविधि नियन्त्रण गर्न सिसी क्यामेरा प्रभावकारी भए पनि पछिल्लो समय क्यामराले काम नगर्दा केही असहज भएको बताइएको छ । बिग्रिएका सिसी क्यामेरा मर्मत प्रहरी एक्लैले गर्न नसक्ने भएकाले विशेष गरेर स्थानीय तहसँग समन्वय गरिएको छ । 

पूर्वपश्चिम राजमार्ग विस्तारको काम सकिएपछि सडक सुरक्षाको लागी सिसी क्यामेरा झनै महत्त्वपूर्ण हुने भएकाले थप सिसी क्यामेराका लागि सडक निर्माणको जिम्मा पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनसँग आवश्यक समन्वय गरिरहेको र निर्माण कम्पनी सकारात्मक रहेको तिवारीले बताउनुभयो । 

कालीगण्डकी डाइभर्सनको काम पनि अन्तिम चरणमा पुगेकाले योसहित पहाडी क्षेत्रका सडकका मुख्य नाकामा सिसी क्यामेरा जडानको योजनामा आफूहरू रहेको उहाँको भनाइ थियो । रासस

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ८ : ०५ बजे