‘एउटै नाउरको सिकार गर्न २३ लाख’

वीरगञ्ज महानगरले ३० युनिटसम्म नि:शुल्क विद्युत् दिने

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल रकम बेहोर्ने भएको छ ।

बिहीबार महानगरपालिका र विद्युत् प्राधिकरणबीच सम्झौता भएसँगै यही पुसदेखिको नगरवासीको ३० युनिटसम्मको विद्युत् महसुल निःशुल्क हुने भएको हो । 

अब मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शुल्क र इनर्जी शुल्क महानगरले नै भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ ।  

महानगरको सभा हलमा आयोजित पत्रकार सम्मेलनकाबीच नगरप्रमुख राजेशमान सिंहले आफूहरूले निर्वाचनका बेला जनताकाबीच गरिएको प्रतिबद्धता बमोजिम नगरवासीको विद्युत् महसुल निःशुल्क गर्ने सम्झौता गरेको बताउनुभयो। 

८ बुँदे सम्झौतामा महानगरपालिकाभित्रका गृहस्थ (घरेलु) मिटरमा ५ र १५ एम्पीअरको एमसिबी प्रयोग गरी अधिकतम ३० युनिट खपत गर्ने ग्राहकको विद्युत् महसुल र न्यूनतम मासिक महसुल महानगरले व्यहोर्ने उल्लेख छ । 

यस्तै, महानगरभित्र सञ्चालित सिङ्गल फेज कृषि मिटरको सम्पूर्ण ग्राहकको मासिक विद्युत् महसुल पनि महानगरले नै व्यहोर्ने छ । महानगरले प्राधिकरणको खातामा अग्रिम रकम भुक्तानी गर्ने र त्यही अनुरूप प्राधिकरणले हरेक महिना रिबेटसहितको ग्राहकको शुल्क फर्स्यौट गर्ने छ । 

सम्झौता बमोजिमको सुविधा प्राप्त गर्न ग्राहकले सम्झौता लागु हुनु पूर्वको आफ्नो बक्यौता भने चुक्ता गरेको हुनु पर्ने पनि सम्झौतामा उल्लेख छ । 

कुनै कारणबस सम्झौता बमोजिमको शुल्क भुक्ता हुन छुट भए उपभोक्ताले मासिक मिटर रिडिङ भएको मितिले ६ दिन भित्र प्राधिकरणको कार्यालयमा दाबी गर्न सकिने पनि उल्लेख छ ।  

नगरवासीको प्रतिघर मासिक ३० युनिटसम्म विद्युत् महसुल र इनर्जी शुल्क निःशुल्क गर्ने वीरगञ्ज महानगर मधेस प्रदेशमै पहिलो पालिका बनेको छ ।

सम्झौतामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल र नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख जितेन्द्र कुमार झा र सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । 

 

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ९ : ४७ बजे