‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पोखरामा आजदेखि दसौँ संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’ सुरु हुँदै

गण्डकी।  पर्यटकीय सहर पोखरामा आजदेखि दसौँ संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’ सुरु हुँदै छ । 

फेवा किनारको बाराहीघाटमा छ दिनसम्म चल्ने फेस्टिभलको तयारी पूरा भएको आयोजक बुकवर्म फाउण्डेशनले जनाएको छ ।

प्रचारदेखि व्यवस्थापकीय तयारीका काम सकिएको फेस्टिभलका सदस्य केशवशरण लामिछानेले बताउनुभयो । “महोत्सव स्थल तयार भइसकेको छ, अतिथि र सहभागीहरू आउने क्रम सुरु भएको छ”, उहाँले भन्नुभयो । बुधवार साँझ कवि नवराज पराजुली र गायक उज्ज्वल सागरको प्रस्तुतिबाट फेस्टिभलको शुभारम्भ गरिनेछ । फेस्टिभलमा देश–विदेशका कवि, लेखक, राजनीतिज्ञ, कलाकार, सङ्गीतकर्मीलगायत गरी दुई सय बढी विशिष्ट व्यक्तिको उपस्थिति रहने आयोजकले जनाएको छ । 

फेस्टिभलमा कला, साहित्य, सङ्गीत, राजनीति, अर्थतन्त्र, खेलकुदलगायत विषयमा बहस र अन्तर्संवाद हुनेछ । पचास बढी सत्रमा सम्बन्धित क्षेत्रका विषय विज्ञ र विद्धत व्यक्ति वक्ताका रूपमा सहभागी हुने आयोजकको भनाइ छ ।

फेस्टिभलमा श्रीलङ्काका लेखक सेहान करुणातिलका, लेखक एवं पत्रकार अक्षय मुकुललगायत सहभागी हुँदैछन् । 

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, सिके राउत, गभर्नर महाप्रसाद अधिकारी, डा भगवान् कोइरालासहित विशिष्ट व्यक्ति वक्ताका रूपमा उपस्थित हुनेछन् ।

पत्रकार एवं लेखक विजय कुमार, लेखक सम्राट् उपाध्याय, बुद्धिसागर, सुविन भट्टराई, सङ्गीतकार रञ्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्कालगायतले विधागत छलफल सत्रमा भाग लिनेछन् । 

फेस्टिभलको सहआयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान, प्रवद्र्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्थाका रूपमा पोखरा प्रज्ञा प्रतिष्ठान रहेको छ । 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ७ : ५२ बजे