नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने

भरतपुर । नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । 

सडक खण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो ।

आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । 

सडक बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म बन्द हुनेछ । 

भौगोलिक रूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामका लागि सवारी आवागमन रोक्न लागिएको कार्कीले बताउनुभयो । 

उहाँका अनुसार सडक खण्डमा १५ पुल निर्माणको काम भइरहेकामा नौ वटाको काम सम्पन्न भइसकेको छ । चार वटा पुल निर्माणका लागि ठाडो कडा पहाड काट्नुपर्ने भएका कारण यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि यातायात बन्द गरेर काम गर्नुपरेको आयोजनाले जनाएको छ । उक्त समयमा वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ ।

नारायणगढतर्फबाट जाने यात्रुवाहक सवारी साधनलाई पन्ध्रकिलो बजारबाट जुगेडीसम्म बिहान ११ः०० बजे रोकिनेछ भने मालवाहक सवारी साधनलाई भतेरी जङ्गलबाट रामनगरसम्म बिहान १०ः५० बजेदेखि नै रोकिने छ । 

काठमाडौँतर्फबाट आउने यात्रुवाहक सवारीलाई मुग्लिन बजारबाट मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई बेनीटारबाट पावर हाउससम्म बिहान १०ः५५ बजे रोकिने छ । 

काठमाडौँतर्फबाट आउने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोकिने छ । बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोडिनेछ ।  

नारायणगढ–मुग्लिङ सडक खण्डमा रु एक अर्ब २५ करोडको लागतमा विश्व बैङ्कको सहयोगमा पुल निर्माण भइरहेको छ ।रासस

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ८ : २७ बजे