गुठीसम्बन्धी ऐन तर्जुमा गर्न समिति गठन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुठीसम्बन्धी ऐन तर्जुमा गर्न सरोकार भएका सहितको समिति गठन गरेको छ ।

मन्त्रालयका सहसचिव एवं जग्गा व्यवस्थापन महाशाखा प्रमुख पद्मनिधि सोतीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो । 

मन्त्री स्तरीय निर्णयअनुसार गठित समितिमा गुठीका जानकार द्वय चुन्दा बज्राचार्य र पवित्र बज्राचार्य, मन्त्रालय कानुन शाखा प्रमुख उपसचिव गुणराज श्रेष्ठ, जग्गा प्रशासन शाखा प्रमुख उपसचिव काजीबहादुर विष्ट र गुठी संस्थानका कानुन अधिकृत जनक पोखरेल सदस्य रहनुभएको संयोजक सोतीले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतको विसं २०६४ माघ १० गतेको आदेशमा गुठी ऐन खारेज भएपछि नयाँ ऐन मस्यौदा गर्न समिति गठन गरिएको हो । 

समितिले मस्यौदा तयार पारिसकेको छ । त्यसलाई अन्तिम रूप दिएर यसै हप्ता प्रतिवेदन बनाएर मन्त्रीसमक्ष पेस गर्ने समितिको तयारी छ । 

प्राचीनकालदेखि चल्दै आएका कतिपय पर्व, पूजा सञ्चालनका लागि गुठी छैन । गुठी भएकालाई पनि थप व्यवस्थित गरिनुपर्ने अवस्था छ । त्यो विषयलाई पनि प्रस्तावित मस्यौदामा समावेश गरिएको जनाइएको छ । 

गुठी ऐन नआएकै कारण गुठी संस्थानले रिक्त भएका स्वीकृत दरबन्दी पनि पूर्ति गर्न सकेको छैन । संस्थान हाल स्वीकृत दरबन्दीको ५० प्रतिशतभन्दा कम जनशक्तिका भरमा सञ्चालन भइरहेको छ । जसका कारण काम गर्न असहज भएको संस्थानले गुनासो गर्दै आएको छ ।रासस

 

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ७ : ५७ बजे