‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सुन्तला उत्पादन निरन्तर ओरालो, विषादी र उपकरण वितरण

खोटाङ । सुन्तलामा देखा परेको रोग नियन्त्रणका लागि कृषि ज्ञान केन्द्र खोटाङले रावाबेँसी गाउँपालिकाका किसानलाई विषादी तथा उपकरण वितरण गरेको छ । 

सुन्तलामा देखा परेको औँसा, सिट्रस ग्रिनिङ, जरा कुहिने, झ्याउ पलाउने लगायतका रोग नियन्त्रणका लागि कृषि ज्ञान केन्द्रले रावाबेँसी गाउँपालिका–१ कुभिन्डेका किसानलाई विषादी तथा उपकरण प्रदान गरेको हो । 

विभिन्न प्रकारका रोगका कारण हरेक वर्ष सुन्तला उत्पादनमा ह्रास आइरहेका बेला ज्ञान केन्द्रले कुभिन्डेका २३ किसानलाई डोरसालिस, कुकुरबुटी र टाउ प्रजातिको औँसा मार्ने मोहनी पासो, सिट्रस ग्रिनिङको कारक मानिने सिट्रसशिल्ला किरा फैलिन नदिन किटनाशक विषादी, झ्याउ तथा जरा कुहिनबाट जोगाउने कोनिका नामक विषादी वितरण गरेको हो । 

यस्तै, सुन्तलाको बोट वरपर गोडमेल गरेर माटोको उपचारका लागि मालाथिन वितरण गरिएको कृषि ज्ञान केन्द्रका वाली संरक्षण अधिकृत रामनन्द यादवले जानकारी दिनुभयो। 

किसानलाई सुन्तलाको बोट काँटछाँटका लागि सिकेचर पनि वितरण गरिएको छ । कतिपय किसानको बगानमा रोग लागेर झरेका सुन्तलालाई एक ठाउँमा जम्मा गरेर नष्ट गरिएको छ । 

किसानलाई कुभिन्डेका वडाध्यक्ष गेहेन्द्रमान राई, वाली संरक्षण अधिकृत यादव लगायतले विषादी तथा उपकरण हस्तान्तरण गर्नुभयो। 

चालु आर्थिक वर्ष रावाबेँसी गाउँपालिका–३ लामिडाँडाका सुन्तला कृषकलाई किटनाशक पनि विषादीका साथमा उपकरण प्रदान गर्ने तयारी गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । वर्ष दिनअघि पिसिआर परीक्षण गर्दा लामिडाँडाका सुन्तलामा सिट्रस ग्रिनिङको सङ्क्रमण पुष्टि भएको थियो । 

कुनै बेला हवाई जहाजबाट सुन्तला निर्यात हुने लामिडाँडामा हाल सुन्तला चाख्नै पाइन छाडेको छ । उसो त रोगको प्रकोपका कारण समग्र जिल्लामै हरेक वर्ष सुन्तला उत्पादन दर घटिरहेको छ । 

विशेष गरी औँसाको प्रकोपका कारण जिल्लामा सुन्तला उत्पादनमा र्‍हास आएको वाली संरक्षण अधिकृत यादवले बताउनुभयो । 

औँसा किरा नियन्त्रणकै लागि ज्ञान केन्द्रले गत वर्ष दिप्रुङ चुईचुम्मा गाउँपालिकाको छोरम्बुमा किटनाशक विषादी तथा उपकरण वितरण गरेको थियो । गत वर्ष औँसा किरा नियन्त्रणका उपाय सम्बन्धी ब्रुसर तयार पारेर किसानलाई बाँडिएको थियो । 

 

 

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ७ : १९ बजे