बढ्यो ट्यांकरको भाडा ,उद्योगमन्त्रीको हस्तक्षेपले निगमलाई थप ८० करोडकाे व्ययभार

काठमाडौं । नेपाल आयल निगमले वार्षिक ८० करोड व्ययभार थपिने गरि पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा बढाएको छ । शुक्रबारदेखि लागू हुने गरि इन्धन ढुवानी गर्ने करिब १९ सय ट्यांकरको भाडा वृद्धि गरिएको हाे । भाडा बढाउन महिनौदेखि प्रयास गरेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आयल निगमको सञ्चालक समितिले निर्णय नलिँदा आफैँ हस्तक्षेप गरेका हुन् ।

२ वर्षअघि निगमले गरेको भाडा समायोजन सम्बन्धी अध्ययनमा १० प्रतिशतसम्म भाडा बढ्दा निगमलाई ८० करोड हाराहारी व्ययभार थपिने निष्कर्ष निकालिएको थियो । 

देशभरका आन्तरिक र बाह्य गरेर ३६ वटा गन्तव्यमा इन्धन ढुवानी गर्ने ट्यांकरले बढेको भाडा निगमबाट पाउँछन् । स्थानीय १५ किलोमिटरसम्म न्युनतम ३८२ रुपैयाँ १८ पैसाले भाडा बढ्दा अधिकतम् वीरगन्जदेखि थानकोट र सिनामंगलस्थित डिपोसम्मको ढुवानी भाडा क्रमश ६ हजार ६ ३० रुपैयाँ २० पैसा र ६ हजार ६९० रुपैयाँ ५५ पैसाले बढीको छ ।

सञ्चालन घाटा देखाउँदै उपभोक्तालाई चर्को मूल्य असुलेको निगमले व्यवसायी पोस्नेगरि ढुवानी भाडा वृद्धि गरेको भन्दै आलोचना सुरु भएको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  १ : ५९ बजे